
आफ्नो दुध खाँदै गरेकी ६ महिनाकी छोरीलाई हत्या गरेको आरोपमा एक भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
ऋतु अहुजा नामकी महिलाले आफ्नो चार वर्षको छोरालाई हुर्काउनका लागि छोरीलाई जिउँदै खोलामा फालेको स्विकार गरेकी छिन् ।
घटना निकै नाटकिय ढङ्गले भएको छ । गत सेप्टेम्बर ७ मा ऋतुले आफ्नी ६ महिनाको छोरीको अपहरण भएको खबर पुलिसलाई दिएकी थिइन् । मोटरसाइकलमा सवार व्यक्तिहरुले आफ्नी छोरीको अपहरण गरेको उनले रिपोर्टमा दर्ता गरेकी थिइन् । पुलिसले उक्त घटनाको निकै छानबिन गर्दा पनि केहि सुराग नभेटेका कारण महिला बस्ने इलाकाको सिसिटिभी फुटेज हेरे । यहि फुटेज हेरेर पुलिसले ती बालिकाको आमामाथि नै शंका गरे । त्यसपछि पुलिसले गत मंगलबार ती महिलालाई निकै कडाइका साथ सोधपुछ गरे । ऋतुको बयानले पुलिसलाई नै चकित बनायो । उक्त महिलाका अनुसार उनको चार वर्षको छोरालाई हुर्काउन नै समस्या भइरहेको बेलामा आरोहीको जन्मले थप तनाव पैदा गरेका कारण घरमा कोही नभएको मौका पारी उनले ती दुधे बालिकालाई उर्लिएको खोलामा जिउँदै फालिदिइन् ।
ऋतुको बयान पछि पुलिस सिधै घटनास्थलमा पुगे । घटनास्थलको माहोल सबैलाई स्तब्ध पारिदिने प्रकारको थियो । त्यहाँ उनीहरुले आरोहीको हड्डी, लकेट, डाइपर र लुगाको टुक्राहरु फेला पारे । आरोहीको शवलाई जनावरहरुले खाइसकेका थिए, उनको शवमाथि किराहरु सलबलाइरहेका थिए । उक्त ठाउँबाट पुलिसले आरोहीको हड्डी, लुगाको टुक्रा, मासुका केहि टुक्रा र रगत लागेको माटो बरामद गरेका छन् । (एजेन्सी)