तपाइँको पकेटमा लाइब्रेरी हुन सक्ला? अधिकांश मानिसले सहजै जवाफ दिने गर्छन्, इन्टरनेट भए यो सम्भव भइहाल्छ। तपाइँको हातमा इन्टरनेट सुविधायुक्त मोबाइल भए यो पूरा भइहाल्छ। तर जो मानिससँग इन्टरनेट, इन्टरनेटयुक्त मोबाइल छैन भने उनीहरूका लागि के होला? तर, अब उनीहरूले पनि चिन्ता लिनुपर्ने अवस्था छैन।
अहिले इन्टरनेटबिना नै ई-बुक्स पढ्न सक्ने अवस्था ल्याउन मानिसहरू क्रियाशील भइसकेका छन्। सैयद करिम नामक एकजना व्यक्तिले यो सुविधा दिलाउन एक कम्पनी नै बनाएका छन्। उनले आफ्नो कम्पनीको नाम राखेका छन् 'आउटरनेट'।
करिमले ब्राजिलको सहर रियो दि जेनेरियो आउटरनेटका बारेमा विस्तारमा जानकारी दिएका छन्। आउटरनेटले सूचनामाथि जोड दिएको छ। परियोजनाअन्तर्गत विकिपिडिया, कपिराइट नभएका ई-बुक्स विश्वकै महत्त्वपूर्ण वेबसाइटमा संकलन गर्ने योजना छ।
यसलाई प्रत्येक महिना अपडेट गर्ने योजना कम्पनीको छ। यसका अतिरिक्त आउटरनेटमा समाचार बुलेटिन तथा आपत्कालीन चेतावनीलाई पनि सामेल गरिनेछ। समाचार तथा आपत्कालीन चेतावनीलाई एक-एक घन्टामा अपडेट गरिनेछ। यी सम्पूर्ण सूचनालाई उपग्रहमार्फत प्रसारित गरिने कम्पनीको योजना छ।
जमिनमा राखिने एन्टेनामा जोडिएको रिसिभरले यसलाई ग्रहण गर्नेछ। रिसिभरले वाई-फाई लिंक बनाउनेछ। यी तथ्यांकहरू स्मार्टफोन तथा कम्प्युटरमा कपी गर्न सकिनेछ। करिम भन्छन्, 'उदाहरणका लागि मध्य अफ्रिकाको एक सानो गाउँमा मानिसहरू जो एन्टेनावरपर बस्छन्, उनीहरूले दर्जनौं ईबुक्स तथा अन्य सूचना हासिल गर्न सक्नेछन्।' उनी भन्छन्, 'यदि तपाइँ एन्टेना स्थापना गरेको क्षेत्रवरपर हुनुहुन्छ भने त्यो क्षेत्रमा उपग्रहमार्फत सूचना तथा जानकारी प्राप्त भइरहेको हुनेछ।
तपाइँ आफ्नो फोनमा आउटरनेटमार्फत लाइब्रेसिसम्म पहुँच पु:याउन सक्नुहुनेछ। किनभने यो एक अफलाइन वेबसाइट हो।' आउटरनेट एकतर्फी सञ्चार सुविधा हो। त्यसैले यसको सहयोगमा ई-मेल अथवा ई-च्याटका सुविधा प्रदान गर्न सकिने छैन। तर उपभोक्ता यसका सञ्चालकलाई एसएमएस वा चिठी लेखेर कुनै खाष सामग्रीको माग गर्न सक्छन्।
अहिले यो कम्पनीले तथ्यांकहरू एकत्रित गर्ने तथा प्रसारित गर्नका लागि उपलब्ध अडियो तथा भिडियो उपग्रहमार्फत परीक्षण प्रक्षेपण गरिरहेको छ। करिमका अनुसार अहिले पनि एक दिनमा दुई सय मेगाबाट्सका डाटा प्रसारण भइरहेको छ।
तर यसलाई बढाएर एक सय गिगाबाट्स वा यसभन्दा बढी बनाउने लक्ष्य राखिएको छ। उनले भने, 'आउटरनेटको पहिलो नमुना थोरै महँगो हुन सक्छ। तर हामीले रिसिभरको मूल्य २० डलरमा झार्ने तयारी गरिरहेका छौं।' -बीबीसी (श्रोत साभारः अन्नपूर्ण पोष्ट)
पूरा भिडियो हेर्नका लागि तलको विज्ञापनमा थिच्नुहोला ।