- कसरी बित्यो बाल्यकाल ?
म २०४१ साल असोज ९ गते विहिबारको दिन नुवाकोटको ओखरपौवा गाविस वडा नं. ४ मा जन्मेको हुँ । पढाईमा म ठीकै थिएँ र स्वभाव चकचके खालको थियो । कक्षा ५ सम्म म प्रथम भएको विद्यार्थी हुँ । गाउँमा प्रावि स्कुलमात्र भएकाले कक्षा ६ पछिको अध्ययन काठमाडौंको जितपुरमा आएँ । त्यहीबाट मैले एसएलसी फष्ट डिभिजनमा पास गरें ।
- राजधानी पढाईका लागि छिर्नु भो या कलाकारीताका लागि ?
उच्च शिक्षाका लागि म राजधानी छिरेको हुँ । मैले आरआर क्याम्पसबाट पत्रकारितामा आईए सकें । ब्याचलर पनि मैले त्यही अध्ययन गरें, तर थर्ड ईयरमा ब्याक लाग्यो । मेरो त्यो बेलाको राजधानीको बसाई पढाईका लागि थियो ।
- कलाकारीता कहिलेबाट सुरु गर्नु भयो ?
हुन त कलाकार बन्ने धुन मेरो बच्चैमा थियो । कक्षा ६ मा पढ्दा नै मैले ‘पटके लास’ नामक कमेडी प्रहसन गरेको थिएँ । त्यो बाहेक ४ कक्षा पढ्दाताका नै म मा कलाकार बन्ने नशा लागिसकेको थियो । कक्षा ६ देखि निरन्तर १० कक्षासम्म हसाउने खालका अभिनय गरें, त्योबेला नै मलाई उपल्लो स्तरका कलाकारले गर्ने जस्तै अभिनयमा दम छ भन्थे ।
- कलाकारीताको नशा चैं कसरी लाग्दोरे’छ ?
म कक्षा ९ मा पढ्दा एकपटक भागेर त्योबेलाको चर्चित कार्यक्रम सन्तोष पन्तको ‘हिजोआजका कुरा’को सुटिङ हेर्न गएँ । मेरो दिदीको घर धापासीमा थियो, म निरन्तर त्यहाँ जान थालें । स्कुलको पढाई नै ह्याम्पर हुने गरी नै सुटिङ हेरिन्थ्यो । मैले पहिलोपल्ट कक्षा ९ मा पढ्दा नै हिजोआजका कुरामा अभिनय गरें । त्यसपछि मैले ‘हाँस्न पाईन्नँ’, ‘५२ घुस्सा ५३ ठक्कर’, ‘लगन जुर्ला जस्तो छ’, ‘जिरे खुर्सानी’ लगायत सिरियलहरुमा काम गरें । कलाकार बन्ने खालको ममा चाहना भएर होला यो लाग्ने भन्दा पनि आफ्नो ईच्छामा भर पर्दोरहेछ ।
- भद्रगोल सिरियलमा आउनु अगाडि कुनकुन क्षेत्रमा हुनुहुन्थ्यो ?
भद्रगोल सिरियलमा आउनुअघि म अघि भने झैं विभिन्न सिरियलमा सानो भुमिकामा थिएँ । त्योबेला हामी मेरी बास्सैका सीताराम कट्टेल ‘धुर्मुस’ र केदार घिमिरे ‘माग्ने बुढा’ बाहेकका अन्य कलाकारहरु मिलेर ‘सिस्नुपानी’ सिरियल बनाएका थियौं, त्यसमा म बजार व्यवस्थापनको काम गर्थें । पछि धेरै कलाकारले छोड्न थाले, मेरी बास्सैका कलाकार बान्द्रे त्यसको डाईरेक्टर हुनुहुन्थ्यो, सबैले छोड्नु भयो । एनटिभी २ बाट प्रशारण हुने त्यो सिरियल ५२ भागसम्म प्रशारण भएपछि मैले नै लेखन, निर्देशन र अभिनय पनि गर्न थालें । ९१ भागसम्म मैले सिस्नुपानीमा काम गरें । त्यसपछि साथीहरुको सल्लाहमा एनटिभीमा काम गर्ने भन्ने भयो र ‘सिस्नुपानी झ्याम्मै’ नामबाट प्रशारण पनि हुन थाल्यो । एनटिभीमा लेखन तथा निर्देशनको काम सोमनाथ भट्टराईले गर्नुहुन्थ्यो । म कलाकारको रुपमा मात्र थिएँ । ६ भागसम्म कुनै चर्चा भएन, राम्रो भयो भन्नेहरु पनि पाईएन । त्यसपछि मेरो भेट कुमार कट्टेल ‘जिग्री’सँग भयो । हामी दुईजना मिलेर काम गर्ने भन्ने सल्लाह भयो । भाग ७ देखि नै हामीले राम्रो चर्चा बटुल्न सफल भयौं । १८ भागसम्म राम्रो हुँदै गएको सिस्नुपानी झ्याम्मै पनि विविध कारणले बन्द भयो ।
- भद्रगोलमा चाहिँ कसरी आईपुग्नु भो ?
सिस्नुपानी झ्याम्मै बन्द भएपछि मिडिया हबका संचालक सोम धिताल सरले तपाईंहरुको कार्यक्रम राम्रो छ बन्द गर्नु हुँदैन भन्नु भयो । हामीलाई डमी बनाउन पनि भन्नुभयो र सोही अनुरुप हामीले भद्रगोल नाम जुराएर डमी पनि बनायौं । तर जुन उत्साहले डमी बनाईयो खिचेको ११ महिनासम्म पनि प्रशारण भने हुन सकेन । बल्लतल्ल दुःखमसुखम तरिकाले शुक्रबार बेलुकी ८ :
५० बजे नेपाल टेलिभिजनबाट भद्रगोल प्रशारण हुन थाल्यो । भद्रगोलका लागि हामीले लेखन र सह निर्देशनको भुमिका ग¥यौं, आदरणीय शंकर आचार्य दाईले निर्देशनको जिम्मा लिनु भयो र निर्माताका रुपमा सुवास कार्की सर आउनुभयो । हाम्रो यो टीमले नै भद्रगोललाई चलाईरहेकै छ अहिलेसम्म ।
- पाँडे क्यारेक्टर चाहीँ कसरी जन्म्यो ?
६ भागमा सिस्नुपानी झ्याम्मै बन्द गरेपछि मैले अर्को क्यारेक्टर गर्नुपर्छ भन्ने कुरा मीत्र कुमारजीले भन्नुभयो, हामीले त्यसै अनुरुप ग¥यौं । गाउँसमाजलाई भाँड्दै हिँड्ने खालको बुढो क्यारेक्टरको खोजीमा थियौं हामी । गेटअप बनाईयो तर मलाई बुढोको अडियो नै आएन, धेरै प्रयासपछिमात्र त्यो प्रयास सफल भयो । तर यसको श्रेय कुमार कट्टेललाई दिन्छु म ।
- भद्रगोलमा आउनुअघिको र अहिलेको अर्जुन घिमिरेमा केहि भिन्नताको महसुस गर्नु भा’ छ ?
भद्रगोलमा आउनुअघिको अर्जुन घिमिरे कलाकारिताको मैदानमा संघर्ष गर्दै थियो भने अहिले पनि संघर्ष त गर्दै छ, तर अहिले चर्चा आउने क्रम भने सुरु भएको छ । पहिले प्लेटफर्मका लागि दौडेको अर्जुन घिमिरे अहिले प्लेटफर्म पाएको ठाउँमा छ ।
- भद्रगोल चर्चामा आउनुको पछाडीका कारण के होलान् ? यसको समय, कलाकार, नयाँ सिरियलको माग वा अरु कुनै ?
भद्रगोलका सबै कलाकार राम्रा छन् । शंकर दाईको निर्देशन खारिएको छ, यो पनि एउटा प्लस प्वाईन्ट हो । अझ यो भद्रगोल यहाँसम्म आईपुग्नुमा आदरणीय सुवास कार्की दाईको अत्यन्तै महत्वपूर्ण भूमिका छ । सायद वहाँ नभएको भए पाँडे क्यारेक्टर पनि हुन्थेन । भद्रगोल एउटा टीम वर्क हो । सबैले यसलाई माया गनु भएको छ साथै यसको राम्रो पक्ष भनेको स्क्रिप्ट पनि हो ।
- भद्रगोलका कलाकार मरेको खबर प्रशारण हुनु र यो बेलामा नै भद्रगोल प्रशारण नहुनुको कारण के हो ? कसरी भयो यो घटना ?
भद्रगोलका कलाकार कसैलाई केहि भएको छैन, हाम्रो टीममा कोहि हताहत भएको छैन । हाम्रो टीमका कलाकार भाई सागर लम्सालको जुन समाचार आयो त्यो कसरी आयो नराम्रो कुरा हो । कसले कसरी हल्ला चलायो ? किन चलायो हामी नै अनभिज्ञ छौं । यहिबेला भद्रगोल प्रशारण नभएको चैं फरक कारणले हो । नेपाल टेलिभिजनको वर्सेनि हुने टेण्डर प्रक्रियाका कारण यो भएको हो । भद्रगोल आउँदो शुक्रबारबाट प्रशारण हुन्छ । ‘बले’ को समाचार अफवाहमात्र हो भने सिरियल प्रशारण नहुनुको कारण नेपाल टेलिभिजनको टेण्डरका कारण हो ।- Source: zestkhabar.com