फागुन, काठमाडौं । नेपाल टेलिभिजन बाट प्रसारित हाँस्य टेलिश्रृंखला भद्रगोलका ‘बले’को थेगो यतिखेर निकै हिट छ । भद्रगोलका बले भन्छन् - ए आम्मा हो बोरो, भन्दै जिग्री र कक्रोज सँगै देखापर्ने सागर लम्साल ‘बले’को बारेमा साप्ताहिक पत्रिकामा छापिएको सामाग्री हामि तपाईलाई यहाँ देखाउँदै छौं ।
ए आम्मा हो, बोरोलाई लास्टै रिस उठेजस्तो छ, आज नबाँचिने भैयो, सुस्त गतिमा बले अर्थात सागर लम्सालले बोल्ने यो संवाद धेरैलाई प्रिय लाग्छ । जिग्री बोरो र कक्रोजको टिममा बले थपिने बित्तिकै रौनक बढिहाल्छ । बलेको अभिनय यात्रा पनि पूरै फिल्मी छ । प्लस टु उतीर्ण भएपछि स्पेन जाने सपना साँचेर भिसा अप्लाई गरेका लम्साल भिसा रिजेक्ट भएपछि सिए पढ्न दिल्ली तर्फ हान्निएका थिए, तर दिल्ली पुगेको केही समयमै सिएको सपना पनि उनले बिसाइदिए । दिल्लीमा बिद्यार्थीहरु बस्ने लक्ष्मीनगरबाट गुडगाउँ सरे । इन्दिरा गान्धी बिश्वविद्यालयमा विविएमा भर्ना भए । त्यसपछि दोस्रो सेमेस्टरसम्मको अध्ययन पुरा गरिसक्ने बित्तिकै उनी दिल्ली बस्न नसक्ने अवस्थामा पुगे । स्याङ्जामा जन्मिएर काठमाडौंमा बसोबास गर्दै आएका यी २५ बर्षीय युवालाई दिल्लीको खपिनसक्नुको गर्मीले साह्रै सतायो । खाना खानै नसक्ने भएपछि उनी छुट्टीको समयमा आमा भेट्न नेपाल आए । आमाले नजा भन्नुभयो, सागरले भने – मलाई पनि त्यही चाहिएको थियो । शंकरदेवमा बिबिएस ज्वाइन गरेर आइएलटिस गर्दागर्दै एक दिन पुतलीसडक चहारिरहँदा मोडलिङ एजेन्सीको अफिसमा उनको आँखा पुग्यो । मोडलिङ सिक्ने हुटहुटी चल्यो । त्यहाँ पुगेपछि वीरेन्द्र हमाले एक्टिङ क्लास चलाउँछन् भन्ने कुरा सुने । म गरिबको छोरा भनेर ढाँटी उनले सस्तो शुल्कमै वीरेन्द्रसँग एक्टिङ कोर्स पनि पुरा गरे । एक्टिङ सिक्ने क्रममै उनले नाटकमा अभिनय गरिसकेका थिए । यसबिच आदित्यबिक्रम लम्सालले उनलाई चलचित्र लोफरका निम्ति अवसर दिने बताए । सुरुवातमा असिस्टेन्ट डाइरेक्टरका रुपमा अवसर पाएका सागरले पछि सानो भूमिका पनि निर्वाह गर्न पाउने भए, तर स्क्रिप्टको तयारीका क्रममा उनको भूमिका बढ्दै गयो । २ सिनबाट बढेर उनले थ्रु–आउट भूमिकामा काम पाए । दयाहाङ दाई, आर्यन सिग्देल आदि शीर्ष कलाकारहरुद्धारा अभिनित लोफरमा सबैभन्दा प्रशंसा सागरले नै पाए । लोफरबाटै उनी सह–अभिनेता एवार्डका निम्ति नोमिनेतसनमा पनि परे । त्यसपछि उनले चलचित्र लज्जामा पनि काम गरे । चलचित्रमा प्रस्ताव पनि थुप्रै आए, तर चित्त नबुझेर काम नगरेको सागरले बताए । एक दिन अचानक उनलाई भद्रगोलका निम्ति अभिनय गर्न कुमार कट्टेलले प्रस्ताव गरे । सागरले लोफर र भद्रगोलमा गरेको क्यारेक्टर उस्तै हो ।
