फेसबुकमा बसेको पिरतीले पुर्‍यायो हिरासतमा

बाबियाचौर: सामाजिक सञ्जाल फेसबुकबाट बसेको पिरतीले एक जोडीलाई  पुर्‍याएको छ । विदेशमा रहँदा पोखराकी एक महिलासँग फेसबुकमार्फत बढेको मित्रताको सम्बन्धलाई विवाहमा बदलेपछि म्याग्दीका चित्रमान छन्त्याल नाम गरेका व्यक्ति अहिले बहुविवाह मुद्दामा प्रहरी हिरासतमा पुगेका हुन् ।
जेठी श्रीमतीले बहुविवाह गरेको उजुरी दिएपछि प्रहरीले साउन ८ गते दुवैजनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिमलकुमार उपाध्यायले बताए ।
उनका अनुसार रोजगारीको सिलसिलामा विदेशमा रहेका छन्त्याल र विवाहित ती महिलासँग फेसबुकमार्फत सम्पर्क भएको थियो । फेसबुक, स्काइप, भाइबर र फोन हँुदै गहिरिएको पिरतीलाई छन्त्याल नेपाल फर्कने बित्तिकै दुवैजना काठमाडौँमा भेट भएर विवाहमा परिणत गरेका प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । प्रहरीले अनुसन्धान प्रभावित हुने भन्दै बहुविवाह गर्ने महिलाका बारेमा थप विवरण सार्वजनिक गर्न मानेन् ।
सुनौलो भविष्यको सपना बुन्दै दुखजिलो गरेर घरव्यवहार धान्दै आएकी छन्त्यालकी श्रीमतीले परदेशी श्रीमान्ले बाटैबाट अर्की ल्याएको थाहा पाएपछि प्रहरीलाई उजुरी गरेकी थिइन् । “यो त सामाजिक सञ्जालको दुरुपयोग गर्दा भएको एउटा उदाहरण मात्र हो, यस्ता घटना दिनानुदिन बढ्दै गएका छन्”–प्रहरी निरीक्षक उपाध्यायले भने –“सामाजिक सञ्जालको प्रयोग र व्यक्तिगत सम्बन्धमा संवेदनशील नबन्दा धेरैका परिवार विखण्डनको अवस्थामा पुगेको छ ।” - रासस
- Source: http://annapurnapost.com

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट