सुजन पन्त
१८ वर्षको उमेरमा मुलुकमा तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्दको आगो दन्किरहँदा अम्बिका तिवारीलाई माओवादी आन्दोलनका अनेक आयामहरुले भन्दा पनि एउटा सृजनाले बढी नै उद्धेलित बनाउँथ्यो । उनी माओवादीले प्रयोग गर्ने प्राविधिक– सैद्धान्तिक शब्द र भाषा त बुझ्दिन थिइन् तर माओवादीहरुले प्रयोग गर्ने गीत –‘हिउँ फुटे हिमनदि जनता जुटे जनसागर,औंसीको यो रात पनि हट्छ छिट्टै चिन्ता नगर’ को बोलले भने उनलाई निकै नै छुन्थ्यो । गरिव–उत्पीडित जनतामाथि हुने थिचोमिचो स्थानीय तहमा देखेर आजित बनेकी तिवारीलाई लाग्यो – साच्चै माओवादी जनयुद्दले अत्याचाररुपी औंसीको रातलाई हटाएर सुन्दर दिन ल्याउनेछ ।
त्यसैले उनले सहपाठीहरुसँगै कलेज धाउन चटक्कै छाडेर संसार बदल्ने महान उद्देश्यका साथ क्रान्तिको महाविद्यालयमा आफूलाई भर्ना गराइन् । पुस्तक र किताब– कापीमा अभ्यस्त हुने उनका ती कोमल हातहरु त्यसपछिका दिनहरुमा एसएलआर र गिर्नेटहरुसँग खेल्न थाले । यही क्रममा उनी के कसर नै बाँकी राखिन र ? दुस्मनका किल्लाहरुमा बाघको गर्जनका साथ उनी निरन्तर जाइ लागिरहिन् । युद्धमा कैयन साथीहरुलाई गुमाउनु परे पनि उनी होमिएको युद्धमा उनको पार्टीको जीत भयो । त्यसपछि उनलाई लाग्यो – अब साच्चै छिट्टै उनीसहित लाखौं नेपालीलाई देखाइएका सपना पुराहुनेछन् । गरिवका झुपडीहरुमा अब रातो घाम लाग्नेछन् ।
तर,संसार उनले सोचेको जस्तो सहजै कसरी परिवर्तन हुन सक्थ्यो र ? समय कति निर्मम बनिदियो भने उनीसहित हजारौंलाई मुक्तिको सपना देखाएर युद्दमा होमाएको पार्टी सिंहदरबारमा कतै बिलायो । अझ यसो भनौं,सिंहदरबार बदल्न भनेर छिरेका उनका नेताहरु सिंहदरबार बदल्नुको साटो आफै बदलिए । त्यसपछि लाखौं नेपालीलाई जस्तै उनलाई पनि यो विश्वासघातले असैह्य पीडा दियो । उनले आफ्ना नजिकका सहकर्मीहरुसँग बेलाबेला दुःखेसो गर्दै मनको बह पोख्ने गरेकी थिइन् – माओवादीले मुक्तिको सगरमाथामा पुर्याउने सपना देखाएर अन्तिममा माथिबाट एकैपटक आधार शिबिरमा ल्याएर थचारिदियो । यत्रो बलिदानबाट माथि उठेको पार्टीले त यसरी जनतालाई धोका दिएर गद्दारी गर्यो । अब अरुले के नै गर्लान र ?’
तर यसरी जीवनको बारेमा पछिल्ला दिनमा यस्तो दिग्दारी पोख्दै आएकी उनले यसरी जीवनबाट हारेर विदा नै लेलिन भन्ने सायदैले सोचेका थिए । तर उनले बुधबार सबैलाई आश्चर्यमा पार्दै यो संसारबाट बिरत्तिएर विदा लिइन् । एउटा संसार वदल्ने सुन्दर सपना सजाएकी सिपाही आफै जीवनबाट हारेर आत्महत्या गर्ने तहमा पुगिन ।
स्थानीय तहमा पछिल्ला दिनहरुमा पनि उत्तिकै सक्रिय रहेकी तिवारीका बारेमा स्थानीय कालिका क्लबका अध्यक्ष अर्जुन पन्त स्मरण गर्दै भन्छन्,‘उनी समाजकी गतिशिल युवा थिइन् । समाजलाई जगाउने काममा उनी हरपल लागिरहन्थिन् । हरेक समय उनी गाउँ र समाजको विकास निर्माणलाई लिएर चिन्तित हुन्थिन् । समाजको यस्तो एक गतिशिल व्यक्तिको असमायिक मृत्युले ठुलो क्षति भएको छ ।यसले हामी सबैलाई दुःखित बनाएको छ ।’
उनले विरत्तिएर आत्महत्या गर्नुको कारणबारे सुसाइड नोटमा लेखेकी छन् – मेरो यो आत्महत्या कसैको कारण भएको होइन् । यसमा घर–परिवार,गाउँ कोही पनि दोसी छैनन् । आफ्नो जीवनदेखि हीनताबोध भएर जीवनमा सफल हुन नसकेकोमा जीवन ज्यूनु व्यर्थ लाग्यो त्यसकारण म आफैं यस घटनाको दोसी हुँ । मैले जस्तै हीनताबोध गर्दै कसैले पनि आत्महत्या नगर्नुहोला भन्दै म यो संसारबाट बिदा हुन चाहन्छु ।’ श्रोत साभारः http://www.ratopati.com/