गजेन्द्र बोहरा
'आइ लभ यू....'
श्रीमतिले मोबाइल फ्यात्त मेरो काखमा मिल्काईदिई।
बिहान भर्खर उठेर बाथरुमबाट निस्किँदै गर्दाको पहिलो स्वागत थियो त्यो।
मेरा लागि त मोबाइलमा आउने यो म्यासेज, केही नयाँ होइन। तर, उसका लागि लाग्छ हर दिन मेरा मोबाइलमा 'नयाँ'हरूका म्यासेज आइरहन्छन्।
उसले पाँच कक्षा पढ्दा पढ्दै बिहे भएको थियो हाम्रो। ४ कक्षादेखि बल्ल 'ए...बि..सी..डी..'पढ्न थालेकी उसले, सायद अंग्रेजीमा सजिलोगरी पढ्न जानेको वाक्य सायद, यही नै होला 'आइ लभ यू...'मात्रै।
रातिदेखि लगातार उसको त्यो तेस्रो म्यासेज थियो यो।
एउटा राति आएको थियो, जब म अफिसमै थिएँ। केही स्टाफ विदामा भएका कारण पत्रिकाको काम सक्न केही ढिला भएको थियो।
अर्काे म्यासेज, रातको करिब १२ बजे आएको थियो, म कोठामा जाँदै गर्दा। अनि अर्काे म्यासेज बिहानैको थियो, म उठिनसक्दै। यो बेला मोबाइल श्रीमतिको हातमा थियो।
'आइ लभ यू....', '...डियर','म त तिम्रो मनमै हुन्छु, तिम्रो यादमा तडि्परहन्छु....' मेरो 'इनबक्स'मा जम्मा भइरहने, यस्ता म्यासेज सामान्य लाग्छन्, मलाई।
तर, उसले सहन्न।
...
'दुनियाभरि, आइमाइ, केटीसँग संगत गर्ने....!'
तै, पनि उसको रिस मर्दैन, 'मोबाइल फोडि्दन्छु, अनि काँ पठाउने रैछन् म्यासेज।'
म बोल्दिनँ। सुनिरहन्छु। उसको गनगन सकिन्न 'जहिले अफिसको काम भन्यो, हिँड्यो....., सब था पाईसक्याछु।'
यो 'आइ लभ यू' लेखी पठाउनेसँग म केही दिनदेखि रिसाएको थिएँ।
त्यसैले मलाई फकाउनका लागि उसले यस्ता 'लभ एसएमएस'हरूको ओइरो लगाइरहेकी थिई।
धेरै महिला साथीमध्ये ऊ पनि एक हो, मेरो।
तर, अलि फरक, बेग्लै कथा–ब्यथा बोकेकी।
...
'बाबा 'मोटु–पत्लु' किन आन्न?'
रिमोट समातेको छोरोले मलाई बेस्सरी हल्लायो। हिँज साँझ किनेको डिसहोमको कार्ड। रिचार्ज गर्नै बिर्सेछु।
मोबाइल खोलेर, रिजार्ज गरिदिएँ।
२५८०(डिसहोम)को कन्फर्म म्यासेजसँगै लगातार फेरि दुईवटा म्यासेज, देखिए'हजुरबाहेक मेरो आफ्नो भन्नु को छ र यहाँ?'
फेरि अर्काे पढीसकेँ,'हो, मैले गल्ती गरेकै हुँ तर, अब कहिल्यै हजुरलाई पीर पार्दिनँ।'
लगत्तै फेरि अर्काे टोन बज्यो'म हजुरलाई आजै भेट्न चाहन्छु, आज भेटिनँ भने, सायद यो संसारमा कहिल्यै भेटिने छैन।'
'बाबा किन त्यो मोटुले समोसामात्रै खान्छ के?'
'अनि तँ किन, चटपटेमात्रै खान्छस्, त?'
छोरोलाई भन्दै थिएँ, फेरि अर्काे म्यासेज बज्यो 'र, त्यसपछि मलाई केही चाहिँदैन, मेरो छोरालाई पनि आफ्नै छोराजस्तै मान्नुहोला।'
यो पछिल्लो म्यासेजले म पूरै रन्थनिएँ।
सम्झेँ उससँगको पहिलो भेट। त्योभन्दा अघिको पहिलो फोनवार्ता।
...
चिनजानकै कसैलाई फोन गर्दा एउटामात्रै अंक फरक परेपछि त्यो कलमा एउटा मधुर आवाज सुनिएको थियो 'कसलाई खोज्नुभा हो र?'
'....ए, सरी..सरी.. रङ् नम्बर परेछ, मैले खोजेको तपाईँलाई होइन।' नारी स्वर सुनिनासाथ मैले त्यसै भनेँ।
'...ए भैगो नि... अब नझुक्किनुहोला।'
फोन कट्यो।
राति साढे दश बजे पत्रिकाको काम सकेर, कोठामा फर्किदैँ गर्दा तारम्तार मिस्कल आइरहे।
आधाबाटोमै अडिएर, फोन डायल गरेको त्यो क्षण सम्झिएँ।
'तपाईले बिहान झुक्किएको नम्बर हो।'
ऊ बीचबीचमा हाँस्थी, 'किन मैलाई खोजेको त हो, नि? नत्र, कसरी झुक्किएर मेरोमा फोन आउँछ त?'
'हो र किन त्यस्तो भयो ?'
म पनि एउटा पुरुष त थिएँ, नि। त्यो आधी रातमा सुनिएको नारी स्वरले त्यस्तै भएँ।
'तर साँच्चै भनेको मैले झुक्किएरै त्यो नम्बरमा फोन गएको हो।'
'तर अहिले त झुक्किएको छैन नि।'
ऊ मिठो हाँसो हाँसी, केहीबेर लामोसम्म।
'तपाई को हो र?'
'तपाईँले कसलाई खोज्नुभएको हो र?'
'मैले भनिसकेँ नि गलत नम्बर भएछ।'
'तर सही मान्छेलाई भयो के' उसको बोलि निकै जिस्किएको जस्तो थियो।
उल्टै पो सोधी, 'तपाईँ को हो नि?'
'मेरो नाम गजेन्द्र हो।'
'नाम सोध्या हुँ र?'
'मैले भनेँ त के भो?'
'तपार्इँ को हो पो भनेको त।'
'म पत्रकार हो।'
'....ए....ए....,उसो भए, समाचार बनाउन फोन ल'गाको?'
उसले एकै सासमा भनी 'पत्रकार कस्ता हुन्छन् भन्ने सब था छ मलाई।'
'अनि तपाई को हो त?' पालो मेरो थियो।
'म सिलाई सिक्छु।'
'कहाँ?'
'यहीँ बजारमै, जितेन्द्र टेलर्समा।'
'म गइरहन्छु नि त्यहाँ, देख्दिनँ त।'
त्यहाँ कपडा सिलाईमात्रै हुन्छ, सहरकै चलेको कपडा सिलाउने ठाउँ हो त्यो। तर, त्यहाँ त्यो सिलाउने काम सिकाइन्न।
'हो, के त्यहीँ हो।'
मैले नै त्यो टेलर्सको मालिक अनि त्यसको बारेमा 'डिटेल' भनेपछि भने, ऊ अलि हच्किई।
'.....हो र, मैले त्यसै भनेको।'
...
'कौन बनेगा डन,....., डन बनेगा डन....' मोटु पत्लुसँगै भुलिरहेको छोरोले एक्कासी 'डन'जस्तै गरेर मलाई बिथोल्यो।
अझै भोलुम बढाएर भन्दै थियो, 'अब तपाईँ पत्लु, म मोटु।' उसलाई हेरेँ, छोरो त्यो कार्टुनको 'पत्लु'भन्दा नि दुब्लो छ।
'ल ल अब होमवर्क गर्नुपर्छ, एक छिन हेरेर' ऊ केही बोलेन। रिमोट समातेर सोफामा फुर्लङ्ग भयो।
सुरुवात त्यसरी नै भएको थियो, उसको र मेरो सम्बन्धको।
...
केही दिन त्यसरी नै कुराकानी भइरह्यो। मैले मेरो बारेमा केही झुट बोलिनँ। कसैसँग बोल्दिनँ पनि। नयाँ महिला साथीहरुसँग पुरुषले लुकाउने भनेको बिहेको कुरा हो, तर म कहिल्यै लुकाउँदिन।
ऊसँग पनि त्यस्तो केही लुकाइन। उसले पनि मलाई सबै कुरा भनिसकेकी थिई। करिब एक महिनाका बीच फोनबाटै हामीले एकअर्कालाई चिनिसकेका थियौँ।
एक दिन भेट्ने कुरा भयो।
एक महिना फोनबाटै गहिरिएका हामी अब भेट्दै थियौँ।
मेरो घाँटीमा सधैँ रुद्राक्षको माला हुन्छ, त्यो बेला कपाल पनि लामै थियो। टुप्पी पनि। दाह्रीजुंगा सब बढेका थिए, म उत्ति आफ्नो स्याहार गर्दिनँ। लाउने, खानेमा खासै ध्यान दिँन्न।
दिउँसो १ बजे। हामी भेटिएका थियौँ।
'तपाईँ हो?'
एउटा नारी स्वर ठोक्किन नपाउँदै म पछाडि फर्किसकेको थिएँ 'शंका लाग्यो र?'
ऊ मुस्कुराई मात्रै।
त्यस्तो केही कुरा भएन, नयाँ।
फोनमै भएका कुरा दोहोरिए। फेरि भेटौँला भनेर आधा घण्टामा हामी छुटि्टयौँ।
माघ महिनाको पारिलो घामले सेकिँदै हामी घोराहीनजिकै खोलाको बगरबाट छुटि्टदै थियौँ। अलि पर पुगेर उसले फर्केर हेरी। ऊ देखिँदासम्म मैले भने हेरिरहेँ।
'तपाईँ त कस्तो जोगीजस्तो देखिनुभा।'
साँझ एउटा म्यासेजले मोबाइल झन्कियो।
'हो र, जोगी नै त हुँ।'
लगत्तै उसले फर्काइ 'तर, मायालु।'
मैले केही लेखिनँ।
...
दोस्रो भेट हाम्रो, एउटा रेष्टुरेन्टमा भएको थियो। रेष्टुरेन्टको परिसरमा फूलहरूले घेरिएको एउटा टेबुलमा हामी थियौँ।
ऊ २२ वर्षकी भई। उसको छोरो सात वर्षको। मेरो छोरो, छोरो भर्खर चार वर्ष पुग्दैथियो।
स्कूल पढ्दा नै उनीहरूको लभ भयो। दश कक्षामा नपुग्दै उनीहरू भागे। बिहे भयो। लोग्ने स्कूल गइरहन्थ्यो। ऊ जान भने जान पाइन।
'बुहारीले नि पढ्ने? घरमा काम गर्ने हो, बिहे भएर स्कूल जान हुन्न' त्यो बाहुनको घर थियो, अनुशासन कडा।
उसले पढ्न पाइन।
केही वर्ष बित्यो, छोरो जन्मियो।
छोरो ३ वर्षजतिको हुँदो हो, त्यो बेलासम्म लोग्नेस्वास्नीको ठाकठुक पर्न थालिसकेको थियो।
कति दिनसम्म त उनीहरू बोल्दैनथे पनि। के कुरामा झगडा हुन्थ्यो, केही थाहा हुन्नथ्यो।
पढ्न गएको लोग्ने धेरै दिनसम्म घरमा आउँदैनथ्यो। घरमा सबले भने 'यसैले गर्दा हाम्रो छोरो बिग्रियो, यसैले गर्दा छोरो घरमा आउनै छोड्यो।'
ऊ छोरा काखमा राखेर खुब रुन्थी। भागेर बिहा गरेपछि माइतीले पनि खासै मतलव गरेनन्।
दिदीहरूलाई कहिलेकाहीँ भेट्दा खुब रुन्थी। आमा पनि कहिलेकाही भेट्न आउँथिन्, लुकेर। बुवा अनि दाईहरूले अहँ, हेर्दै हेरेनन्, मतलवै गरेनन्। त्यसैले आमाले कहिलेकाहीं भेटेको थाहा पाएपनि गालि गर्थे, अनि आमा सुटुक्क छोरी भेट्न आउँथिन्, लुकेर।
एक दिन सारै अत्यास लाग्यो। ऊ छोरो लिएर दिदीको घर हिँडी। तीन दिन भइसकेको थियो, पढ्न गएको उसको लोग्ने घर फर्केको थिएन।
उसलाई लागेको थियो, घरमा नदेखेपछि ऊ खोज्दै दिदीको घरसम्म आउनेछ, सम्झाउने छ अनि घरमा लैजानेछ।
'ऊ नआउँदासम्म म जादिनँ' दश दिन बितिसकेको थियो, ऊ दिदीकै घरमा थिई।
एघारौँ दिनमा उसलाई कसैले खबर गर्यो 'ऊ घर नजानु रे, लोग्ने अर्की लिएर गइसके।'
'कसरी विश्वास गर्नु?'
ऊ छोरो टिपेर घर गई। ढोका खुलेन। साँझ ढप्किसकेको थियो। छोरोलाई एकसरो ओढ्दा ओढाएर रातभर पिँढीमा बसी।
सासुले बिहानै ढोका खोलिन्, ऊ भित्र पस्न खोजी।
सासुले भनिन् 'किन आको, अर्काको घरमा? ऊ त आफ्नो घरजम गरेर गइसक्यो।'
ऊ थचक्क बसी, पिंढीमै। चिसोलाई जितेरपनि निदाएको छोरो, चिच्याइरेहेको थियो। दूध चुसाउने, न्यानो पार्ने होसै थिएन।
ऊ धेरै बेर रोई। कतिबेला फेरि दिदीका घरमा पुगी थाहै भएन।
धेरै दिन त्यसैगरी बित्यो। धेरै भौतारिई। धेरै खबर पठाई आफ्नो लोग्नेलाई केही जवाफ आएन।
कसैले सुनाएको थियो, यस्ता मुद्दा संघसंस्थाले लडिदिन्छन्।
ऊ महिलाहिंसामा परेकाहरूलाई उद्दार गर्ने एउटा संस्थामा पुगी। केहीबेर काउन्सिलिङ चल्यो।
त्यही संस्थाको होस्टेलमै बसी। ऊजस्ता 'घरबार बिग्रेका' धेरै थिए त्यो होस्टेलमा।
दाईजो नभएर घरबाट निकालिएका, श्रीमानको यातना सहन नसकेर निस्केका यस्तैयस्तै। धेरैसँग धेरै कथा थिए, धेरै ब्यथा थिए।
वर्ष बिते, तर मुद्दा केही टुङ्गो लागेको थिएन। संस्थाले नै जिल्ला अदालतमा मुद्दा हालेको थियो, सम्पत्तिसहित सम्बन्ध विच्छेद गर्ने ब्यहोरामा।
अदालतले बिहे दर्ता माग्यो, त्यो थिएन। उसले छोरो पेश गरी, अदालतले मानेन। नागरिकता माग्यो, त्यो पनि थिएन।
मुद्दा त्यस्तै भयो, बिहेको 'कागज' नभएर अदालतले फैसला गर्न सकेन।
ऊ फेरि भौतारिई। 'होस्टेल'मा खाने, बस्ने अनि सिप सिक्ने व्यवस्था पनि हुन्थ्यो। तर, पनि उसको मन त्यहाँ बस्न सकेन।
करिब २ वर्षपछि ऊ त्यहाँबाट निस्की। एउटा त्यस्तै 'घर बिग्रिएकी' साथीसँग बसी।
...
केही महिना त्यस्तै बिते,मोबाइलमा आएका 'मिसकल' फर्काउने अनि कुरा गरिदिने,वस् काम त्यत्ति थियो।
हाम्रो संगतको एक वर्ष बितिसकेको थियो। उसले मलाई माया गर्थी। मैले पनि गर्थे।
उसलाई मैले मेरो डेरामा पनि लगेको छु। उसको छोरालाई पनि।
श्रीमतिलाई पनि चिनाएको छु। साथी भनेर। तर मोबाइलमा कस्को म्यासेज हो, भनेर श्रीमतिले हेर्दिन,उसको 'अब्जेक्सन' कसैले लेखेको 'आइ लभ यू...'सँगमात्रै हुन्छ।
तर, मेरो लागि त्यो सामान्य थियो। साथी, भाइ, छोरा, श्रीमति सबलाई सजिलैसँग आइ लभ यू भनिदिन्छु। मलाई लाग्छ, सम्बन्ध र प्रेम फरक कुरा हो।
एक दिन उसले भनी 'पोखरा जान्छु, त्यहाँ अंकलको पसल छ अरे, त्यसैमा काम गर्छु, छोरालाई पनि पढाउँछु।'
मैले 'राम्रो हुन्छ भने जाउ' भने।
पोखरा जानुअघि हामी फेरि एउटा रेष्टुरेन्टमा भेटियौँ। मगाएको कफी नआउँदासम्म नै हामी धेरै रोइसकेका थियौँ। कफी टेबुलमा आइपुगेको धेरै बेरपछिसम्म पनि हामी रोइरहेका थियौँ।
'सर अरु केही ल्याउँ?' वेटरले हल्का टेबुल बजाएपछि हामी आँशु पुछ्न लाग्यौँ।
वेटर केही नबोलेर फर्कियो। केही बेरमा हामी पनि छुटि्टयौँ। अर्काे दिन ऊ हिँडी।
घर पुगेर श्रीमतिलाई भनेँ 'ऊ त पोखरा गई?'
'अनि बाबु नि?'
'छोरा नि लिएर गै।'
'बरु हाम्रै डेरामा बस्नुहुन्थ्यो नि किन जान द्याको त।'
म केही बोलिनँ।
केही दिन बित्यो, करिब १२ दिनपछि उसको फोन आयो।
...
'म यहाँ बस्न सक्दिनँ, मलाई लुट्न खोजेँ, बसपार्कमा छु, अहिलै आउँछु, पैसा छैन' मैले हेलो पनि भनिनसक्दै उसले सबै कुरा एकै सासमा भनिसकेकी थिई।
पोखरामा चिनेका पत्रकार साथीहरूलाई भनेर मैले दाङ आउने व्यवस्था मिलाइदिएको थिएँ।
ऊ दाङ आएर, सरासर मेरै डेरामा आई। उसको छोरो मेरो छोरासँग खेल्न थाल्यो, ऊ खाटमा पल्टेर धेरै बेर रोई।
अंकल भनिएकाले पसल होइन, होटेल गर्दा रैछन्। ऊ जस्तै धेरै रहेछन् त्यहाँ। अंकल नाता अलि टाढैको हो, भनेर पहिलै भनेकी थिई।
केही समय मेरैमा बसी। पछि फेरि दिदीको बस्छु भनेर गई।
करिब दुई वर्ष बितिसकेको थियो। उसले पहिलापहिला म्यासेज फोन गरिरहन्थी। दिदीको बसेर पढ्दैछु पनि भन्थी। छोरालाई बोर्डस गरेको छु, पनि भन्दै थिई।
एक दिन एउटा म्यासेज आयो, त्यही नम्बरबाट 'आज म धेरै बिजी छु, तर, तपाईले भनेजतिमा त जान सक्दिन, दुई दिन, होल नाइटका लागि त मैले भनेजत्ति नै हुनुपर्छ।'
म धेरै रन्थनिएँ। केही सोँच्नै सकिनँ।
फेरि अर्काे म्यासेज आयो'सरी, सरी, सरी......सरी।'
धेरैपटक 'सरी' म्यासेज आइसकेपछि मैले यत्तिमात्रै लेखेँ 'छोरालाई राम्रोसँग पढाउनु, तिमी को हौ, उसले थाहा नपाओस्, अब मलाई म्यासेज नि गर्नुपर्दैन।'
त्यसपछि हो, उसले 'लभ एसएमएस'हरू बर्षाउन थालेको।
...
धेरैपछि मेरो फेसबुकमा एउटा म्यासेज आयो, 'छोरो २ कक्षामा फर्स्ट भयो, मैले पनि प्राइभेटमा एसएलसी गरेर प्लस टु सकेँ, अहिले एउटा डान्स बारमा काम गर्छु।'
म पनि काठमाडौं छिरिसकेको उसलाई थाहा छ।
केही दिनअघि फेरि म्यासेज पठाएकी थिई 'कसैको छोरी थिएँ, कसैको स्वास्नी भएँ, कसैको आमा बनेँँ, तर केही हुन सकिनँ, अनि वेश्या भएँ।'
मैले केही जवाफ दिइनँ।
फेरि अर्काे म्यासेज आयो, 'तर म तपाईँलाई माया गरिहन्छु, सधै गरिरहन्छु जीवनभरिको साथीको रुपमा।'
उसले एकोहोरो लेखिरही,'जीवनभरको साथी हुनलाई बिहे गर्नैपर्छ भन्ने हुन्न नि।'
आजै पनि यस्तो म्यासेज छ, 'हो, तपाईले मलाई गलत सोँच्नुभएको छ, म सही पनि छैन हुँला, तर तपाई त राम्रो मान्छे हो नि, म पो वेश्या हुँ त, प्लीज एकपटक म तपाईँको काखमा रुन चाहन्छु सारा पीडा आँशुले धुन चाहन्छु।'
र, यसपालि मैले लेखेँ 'हो, तिमी वेश्या होइन, म शरीर बेच्नेलाई बेश्या मान्दिनँ।'
...
अफिसमा ल्यापटप बन्द गर्दैगर्दा फोन बज्यो।
उठाएँ, छोरो भन्दै थियो'बाबा, मम्मीले मोटु–पत्लु हेर्ने दिनुहुन्न, सिरियलमात्रै लाउनुहुन्छ।'
यही लडाईमा उसले कति रिमोट फुटाइसक्यो, त्यसको गणनै छैन। अस्ती भर्खर हो, त्यही रिसमा उसले टिभी नै फुटाइदियो।
उसले मम्मीलाई फोन दिइसकेको थियो भनेँ, 'टिभी कोठाका फुट्ने चिज लुकाएरमात्रै सिरियल हेर्नु।'
श्रोत साभारः http://setopati.com/blog/20697/