स्वर्गीय डा. चित्र वाग्लेको परिवारलाई सरकारले १५ लाख सहयोग गर्ने (डा. वाग्लेको जीवनीसहित)

काठमाडौं – क्यान्सरका कारण मृत्यु भएका स्वर्गीय डा. चित्रप्रसाद वाग्लेको परिवारलाई सरकारले १५ लाख रुपियाँ सहयोग गर्ने भएको छ । गत कात्तिक २६ गतेको स्वास्थ्य मन्त्रीस्तरीय निर्णयलाई  अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाले सहमती दिएपछि डा. वाग्लेको परिवारले सहयोग पाउने भएको हो । यस निर्णयलाई मन्त्रिपरिषद्ले पास गरेपछि स्व. वाग्लेको परिवारले सहयोग पाउँनेछ ।
डा. वाग्लेकी श्रीमती पुजा पराजुलीले परिवारको लालनपालनका लागि सहयोग गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेकी थिइन् । यसअघि सरकारले डा. वाग्लेलाई उपचारका लागि  १० लाख रुपियाँ सहयोग गरेको थियो । सरकारी चिकित्सक डा. वाग्लेले आफ्नो जीवनकालमा दुर्गममा बसी स्वास्थ्य सेवा दिएका थिए । डा. वाग्लेको एपेन्डिक्स क्यान्सरका कारण २०७० कात्तिकमा मृत्यु भएको थियो । डा. वाग्लेलाई उपचारका लागि बिभिन्न व्यक्ति तथा संस्थाले ५० लाखभन्दा बढी सहयोग गरेका थिए ।

स्वास्थ्य सेवाका नमुना डा. वाग्लेको जीवनी

हरेक बाबुआमाले आफ्ना छोराछोरीको भलो नै ठान्छन् । रूपन्देहीका कृषक चूडामणि उपाध्याय पनि पढाईमा अब्बल छोरा चित्र शर्मा बुटवलतिरै पढोस् भन्ने चाहन्थे । तर छोरा वाग्लेको सपना भविष्यमा गलामा आला झुन्ड्याएर गाउँका विपन्नको स्वास्थ्य सहारा बन्ने थियो । भर्खर एसएसली पास गरेको छोराले बाबुको इच्छासँग विद्रोह ग¥यो, त्यो पनि दाइभाइको साथ लिएर । त्यही विद्रोहले नै कालान्तरमा बाबुआमा मात्रै होइन, सिंगो मुलुकको मन जित्यो र नाम पनि कमायो । तर, हाइहाई भएका तिनै सन्तानलाई आज उमेरमै गम्भीर रोगले समातेको छ । उनै डाक्टर वाग्ले जीवनभर कमाएको मान, सम्मान र प्रतिष्ठाले मात्रै संभव नहुने क्यान्सरको उपचारका लागि भांैतारिइरहेका छन् । संघर्षपछिको सफलता र कठोर नियतिपछि पुनः संघर्षपुर्ण जीवन बाँचिरहेका वाग्लेले समाजलाई दिएका योगदान र पाएका सफलताले जति गर्व महसुस गराउँछ, उनको जीवनमा आइपरेको अवस्थताले त्यतिकै रुवाउँछ ।
२०२४ साल माघमा जन्मिएका वाग्लेले रूपन्देहीस्थित पहरवा माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा प्रवेशिका उत्तीर्ण गरे । विद्यार्थी जीवनमा उनले एसएलसीसम्म पुग्दा सधैं विद्यालय तहमा ‘होलफस्ट’ भए । मध्यम वर्गीय कृषक चूडामणि उपाध्यायका दुई श्रीमतीका छोराछोरीसहित १५ जनाको ठूलो परिवार थियो । ११ भाइछोरा, ४ बहिनि छोरी । यद्यपि बुबाले किसानी कमाईबाट छोराछोरी पढाउन कन्जुस्यार्इं गरेनन् । काँइला छोरा चित्र पढाईमा अरू भन्दा अब्बल पनि थिए ।
तर राम्रो पढाई भएको छोरो साइन्स पढोस् त्यो पनि गाउँमै भन्ने इच्छा थियो बुबाको । तर उनको मनमा केवल काठमाडांैको चित्र थियो । काँधमा आला (स्टेस्थेस्पोक) झुन्ड्याउने इच्छाले छोडेको थिएन । त्यसैले दाजुहरुको सहयोग लिएर उनी पनि काठमाडौं छिरे, डाक्टर बन्ने सपना बोकेर ।
उनी ०४५ सालमा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)मा हेल्थ असिस्टेन्ट (एचए)मा भर्ना भए । उनलाई शुरूमा गाउँको स्कूलको पढाईको स्तरले स्वास्थ्यको पढाई धान्न गाह्रो भयो । अंग्रेजी माध्यमका किताब भएकाले कक्षाको लेक्चर केही बुझेनन् उनले । एक मनले त बाबुले भनेजस्तै गाउँतिर साइन्स पढ्न पो सजिलो हुन्थ्यो कि भन्ने पनि सोचे उनले । तर त्यसरी लक्ष्य भेटिँदैन भन्ने उनलाई थाहा थियो । उनले लाजकै लागि भनेपनि नबुझेका बिषय रातारात घोक्न थाले । केही नबुझिकनै भएपनि पनि पहिलो वर्षको परीक्षामा दोस्रो भए उनी । कक्षामा केही नजान्ने विद्यार्थी दोस्रो आएपछि अरु विद्यार्थी पनि मच्चिएर पढ्न थाले । त्यसले गर्दा अन्तिम वर्षसम्म अर्का साथी दोस्रो भए, चित्र चाहिँ तेस्रो ।
एचए सकेपछि प्युठानको बिजुवार अस्पतालबाट स्वास्थ्य क्षेत्रमा व्यावसायिक जीवनको शुरूवात गरे उनले । दाङको भालुवाङबाट झण्डै दुई दिनसम्म हिँड्नु पथ्र्यो बिजुवार पुग्न । इलाका स्तरीय हेल्थपोष्ट थियो त्यो । ठूलो समुदायको स्वास्थ्यको भरोसा पनि थियो त्यो हेल्थ पोष्ट । सेवा प्रवेश गर्दादेखि नै उनले दुर्गमवासी र बिपन्न समुदायको सेवालाई आफ्नो मूल धर्म ठाने । सरसफाईको अभावमा छालाका रोग, पेटमा जुका पर्ने र धूमपानका कारण श्वासप्रश्वासका रोग बढी आउँथे त्यो उपस्वास्थ्य चौकीमा ।
डाक्टरी काम नै भएपनि उनलाई एचएको डिग्रीमा अडिएर बस्न मन थिएन । उनी डाक्टर बन्ने बाटोको खोजीमा थिए । शिक्षा मन्त्रालयले रसियामा एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति कोटामा पढ्न उनी काठमाडांै झरेका थिए । यो ०४६ सालको कुरा थियो । एक दिन त्रिविका विद्यार्थीहरुले दिनभरी उपकूलपति घेराऊ कार्यक्रम राखेका थिए । त्यस दिन उनी पनि गाउँका विद्यार्थी नेता बालकृष्ण खाँडकै कोठामा बसेका रहेछन् । तेस्रो दिन परीक्षा थियो । उपकूलपति घेराऊ कार्यक्रमका दिन उनी पनि बालकृष्ण खाँडसँंगै गिरफ्तारीमा परे । हनुमान ढोकामा राखेकै अवस्थामा छुट्ने प्रयास भएपनि दिउँसो एक बजे उनलाई नजरबन्दको पत्र दिइयो । स्वास्थ्य मन्त्रालयअन्र्तगतको कर्मचारी हुँ भन्दा पनि प्रशासनले छोड्न मानेन । यसै काण्डले उनी एमबिबिएस प्रतिस्पर्धा गर्नबाटै बञ्चित हुनुप¥यो र एक महिना जेलको चिसोमा बिताउनु प¥यो ।
अर्को वर्ष उज्वेकिस्तानका लागि छात्रवृत्ति कोटा आयो । त्यसमा उनको पनि नाम निस्कियो । तर उनी सरकारको स्थायी कर्मचारी भएकोले अवधि नपुगेको भन्दै स्वास्थ्य मन्त्रालयले विदा दिन तयार भएन । तैपनि उनी एचएको स्थायी जागिरबाट राजीनामा दिएर डाक्टरी पढ्न हिँडे । उनले त्यहाँबाट सन् १९९७ मा प्रथम श्रेणीमा एमडी (एमबिबिएस सरहको भएपनि एमडी भनिन्थ्यो) पास गरे ।
स्थायी जागिर छोडेर पढ्न गएकोले नेपाल फर्किएर पाल्पास्थित मिसन अस्पतालमा काम शुरू गरे । ६ वर्ष जति काम गरेपछि उनलाई फेरि त्रिवि शिक्षण अस्पतालमा छात्रवृत्तिमा एमडिजिपीको अवसर मिल्यो । एमडिजिपी सकेर उनले ०५७ सालमा पुनः लोकसेवा लडेर स्थायीमा नाम निकाले । मन्त्रालयले उनको पहिलो पोष्टिङ नै अर्घाखाँची ग¥यो । एक वर्षपछि उनलाई जिल्ला स्वास्थ्य प्रमुखको जिम्मेवारी दियो । त्यसपछि डा.शर्माको ध्यान त्यहाँको स्वास्थ्य अवस्था सुधारमै लाग्यो ।
त्यतिबेला ‘मानिस बिग्रिए राँची, कर्मचारी बिग्रिए अर्घाखाँची’ भन्ने भनाइ चलेको रहेछ । त्यसैले होला कर्मचारीहरु अर्घाखाँची जानै चाहँदैनथे । उनलाई सुविधा भन्दा पनि सेवा गर्नु थियो । त्यसैले उनले अर्घाखाँचीमै संभावना खोज्न थाले । गाउँमा जन्मे, हुर्केकाले पनि गरिबी उनले नजिकबाट देखेका थिए । देशका गरीबले पनि डाक्टरको मुख देख्न पाउनु पर्छ भन्ने कुरालाई ध्यानमा राखेर गाउँमा बस्ने प्रण गरे । उनले काठमाडांै बसेर धन कमाउने सोच कहिल्यै लिएनन् । कहिल्यै उनी सरुवा गरेर सुगम पु¥याइदेऊ भनेर मन्त्रालय धाएनन् । विरामीको सेवामा मात्र लागिरहे ।
०५७ सालमा उनी अर्घाखाँची पुग्दा जिल्ला अस्पताल नाम मात्रको थियो । विस्तारै उनले अस्पतालप्रतिको विश्वास बढाए । चिकित्सकले जनमानसमा विश्वास जगाउने आधार भनेको सेवा हो । जसरी सेवाको स्तर सुधारिँदै गयो, अस्पतालमा पनि बिरामीको संख्या बढ्दै गयो । १२ वर्षको बसाईमा उनले अस्पताललाई ३५ बेडमा पु¥याए ।
यतिमात्र होइन भुर्इंमा बिरामी राखेर उपचार गर्नुपर्ने अवस्थामा अस्पताल पुग्यो । त्यहाँ अर्घाखाँचीका मात्रै होइन गुल्मी र प्युठानका विरामीको भरोसा पनि यही अस्पताल बन्यो । सीमित स्रोत, साधन र जनशक्तिको भरमा अस्पताल सञ्चालन गर्नुपर्ने बाध्यता थियो उनलाई । त्यसैले उनले पियनलाई तालिम दिएर एक्सरे चलाउन सिकाए । आफूले सक्नेसम्मका शल्यक्रियासमेत उनले शुरुवात गरे । उनले अस्पतालाई घर र बिरामीलाई परिवार सम्झन्थे । दशैंमा अष्टमीका दिन घर पुगेका उनी पोष्टमार्टमका लागि अस्पताल फर्किएका थिए । उनले यसबीचमा सबै तिहार अस्पतालमै मनाए ।
बिस्तारै अस्पतालमा सेवा पनि बढ्दै गयो । उनले शल्यकक्षा र अल्ट्रासाउण्ड सेवा पनि सञ्चालनमा ल्याए । भोलियन्टियसर्् ब्लड डोनर्स समूह बनाएर बल्ड ट्रान्सफ्युजन पनि गराए । हाइड्रोसिल, हर्निया र सिजरियन सेक्सनको शुरूवात भयो । खोप र गर्भवती जाँचको सेवा लिन आउनेहरू बढे । सहज सेवा प्रदान गर्न उनले अस्पतालमा सोलार सिस्टम शुरु गरे । १२ वर्षमा अति दुर्गम ठाउँ समेटिने गरी १२ वटा ठूला शिविर सञ्चालन गरे ।
हेर्दाहेर्दै अर्घाखाँची जिल्ला अस्पताल पश्चिमाञ्चलको सबैभन्दा बढी बेड अकुपेन्सी भएको अस्पताल बन्न पुग्यो । जिल्ला जनस्वास्थ्यको भवन पनि निर्माण भयो । अस्पतालमा उनले रोपेका बिरुवा अहिले हरियाली बनाउने रूख बनिसकेका छन् ।
१० वर्ष द्वन्द्वको समयमा पनि अर्घाखाँचीमा उनले सेवा रोकिन दिएनन् । द्वन्द्वको डरमा अधिकांश हाकिमहरु जिल्ला बस्दैनथे । त्यस अवधिमा उनले दशैंका दुई दिनबाहेक जिल्ला छाडेनन् । अस्पतालमा घाइते राख्ने ठाउँ नहुँदा पनि चौरमा विरामी राखेर उपचार गर्थे उनी । तीन पटकसम्म जिल्ला सदरमुकाममा आक्रमण हुँदा उनले दुबै पक्षका सयौं घाइतेको उपचार गरे । जनआन्दोलनमा उनले शिविरै खडा गरेर सेवा दिएका थिए ।
जनयुद्धमा घाइते माओवादि र सेनालाई उनले जति उपचार सायद कुनै चिकित्सकले गरेनन् होला । त्यतिबेला उनलाई डोकामा औषधि हालेर जंगल पठाएको आरोपसमेत लागेको थियो । तर उनी कुनै कुराको पर्वाह नगरी सेवामै लागी परे । ‘मैले भैंसीको हैन मान्छेको उपचार गरेको हुँ’ उनको जवाफ हुन्थ्यो । अस्पातालको नेतृत्व सम्हाल्दा कहिल्यै पनि राजनीतिक आधारमा नियुक्ति गरेनन् उनले । सबैको कुरा सुने तर अस्पतालको अहित हुने गरी कुनै निर्णय गरेनन् । त्यसैले उनी जिल्लामा सर्वोत्कृष्ट कर्मचारीबाट सम्मानित पनि भए ।
डाक्टर जानै नखोज्ने एउटै अस्पतालमा उनले १२ वर्षभन्दा बढी सेवा दिए । त्यसको कदरस्वरुप सरकारले ९ महिनाअघि विश्व स्वास्थ्य संगठनको सहयोगमा आएको थाइल्याण्डमा एमपिएच पढ्ने अवसर उनलाई दियोे । थाइल्याण्ड पुगेर पढ्न थालेको डेढ महिनामै उनलाई एपेन्डिक्स क्यान्सर देखियो । त्यहाँ उपचार गराउन सक्ने अवस्था थिएन, त्यसैले उनी एक हप्तामै नेपाल फर्किए ।

जीवनमा सोच्दै नसोचेको बज्रपात । परिवार र गाउँको सेवामा रमाएको मान्छे उनलाई विपत आइलाग्यो । थाइल्याण्डको अस्पतालमा क्यान्सर प्रमाणित भएपछि उनी अस्पतालबाट त जसोतसो निस्किए, होटल पुगेपछि चाहिँ भक्कानो छोडेर रोए । उनलाई थाहा थियो क्यान्सर मृत्यु हो । मृत्युको खबर थाहा पाउँदाको क्षण उनले श्रीमती, १२ वर्षको मानसिक अपाङ्ग भएको छोरा र कलिला दुई छोरी सम्झे । नेपाल आएर सानो गाँठो पलाएको छ उपचारका लागि भरतपुर जान्छु भन्दै परिवारलाई ढाँटेर हिँडे उनी । एक जना नजिकका साथीले घरमा क्यान्सर भएको खबर सुनाइ दिए । भरतपुर क्यान्सर अस्पतालका चिकित्सकको सल्लाह अनुसार उनी उपचारका लागि दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पताल पुगे ।
चिकित्सकीय जीवनमा उनले धेरै मृत्यु नजिकबाट देखेका थिए । कयौंलाई मृत्युको मुखबाट बँचाएका पनि थिए । उनको क्यान्सर चौथो स्टेजमा पुगिसकेकोले अब रोग निको हुने भन्दा पनि जति सक्यो जीवन लम्ब्याउने सोच बनाए । यसका लागि उनी बालबच्चाको भविष्यका लागि बचत गरेको रकम अहिले खर्च गरिरहेका छन् । मृत्यु निश्चित छ र पनि बाँच्ने दिन बढाउन उनी सकेसम्मका उपचार विधिको खोजीमा छन् । महँगो उपचार भएकाले सरकारी सेवामा दुर्गम जिल्ला बसेर कमाएको धनले धान्न सक्ने अवस्था पनि उनको छैन ।
दिल्लीमा छ साइकल केमो दिएपछि केही आराम अनुभव गरेका छन् उनले । चिकित्सकले उनको शल्यक्रिया पनि गरे । आन्द्रा काटेर पेटबाट दिशा जाने ठाउँ बनाइयो । त्यसपछि थप ६ साइकल केमो चलाइयो । अब दोस्रो चरणको शल्यक्रिया र पुन केमो चलाउन वाँकी छ । निको नभएपनि जीवन लम्ब्याउन गरिने उपचारका लागि कम्तिमा २५ लाख रुपैयाँ सकिइसकेकोे छ । अब ३० लाख रुपैयाँ आवश्यक पर्छ । यति खर्च गर्न सके उनले पाँच वर्ष जीवन लम्ब्याउन सक्छन् ।
जीवनभर गाउँमा विताएको आफ्नो कमाई सक्दा पनि उनको उपचार सम्भव छैन । भएको सम्पत्ति बेचेर उपचार गरे पनि उनको मृत्युसँगै उनका सन्तानले पनि सडकमा आउनुपर्ने हुन्छ । यस्तो परिस्थितिमा जीवनभर गाउँमा सेवा गरेका चिकित्सकलाई सरकारले सहयोग गर्ला कि भन्ने उनमा झिनो आशा छ । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले फोनमार्फत् सरकारले सहयोग गर्ने बाचा गरेका थिए । सरकारका प्रवक्ताले पनि मिडियासँग उपचार खर्च बेहोर्ने सरकारको निर्णय भन्दै सुनाएका थिए । सरकारले नै सहयोग गर्दैछ भन्ने भएपछि उपचारका लागि चिकित्सक संघले शुरु गरेको चन्दा अभियान पनि रोकियो । सहयोग अभियान थाल्छांै भन्नेहरुलाई पनि डा.शर्माले नै सरकारले नै गर्र्दैछ भनेर रोके । तर उनी अहिले अलपत्र परेका छन् । न सरकारले सहयोग ग¥यो, न त चन्दा नै उठ्यो ।
उनले सरकारले दिन्छु भनेको त्यही रकम लिनका लागि पछिल्लो पटक काठमाडौं आउँदा मन्त्रिपरिषद्ले लिखित निर्णय नगरेको खबर सुने । अहिले उनी शल्यक्रियाको आलो घाऊ लिएर सरकारी कार्यालय धाइरहेका छन् । हामी जसरी पनि सहयोग गर्छौं भन्ने मुख्य सचिवको आश्वासनले उनलाई केही राहत त मिलेको छ तर विश्वस्त हुने अवस्था छैन ।
रोग नलाग्दा उनलाई हाइहाई गर्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरु पछिल्ला दिनमा सहयोगी नबनेको देखेर उनले मन रोएको दुखेसो पाखे । व्यावशायिक जीवनमा ‘इथिक्स’ नछाडी गाउँ बसेर अन्य प्रलोभनमा नपरी सेवा गरेका थिए उनले । ११ वर्षसम्म हाकिम भएर रहँदा टेन्डर प्रक्रियामा आएका करोडौं कमिसनका प्रस्तावकलाई उनले नजिक पर्न पनि दिएनन् । अहिले यो अभावको अवस्थामा त्यो इमान्दारी र नैतिकताले गिज्याइरहे जस्तो लाग्छ उनलाई । जिल्लामा काम गर्दा रिफर गर्नुपर्ने कयांै बिरामीलाई आफंै पैसा हालेरसमेत ठूला अस्पताल पठाएका थिए उनले ।
नेपालका अधिकांश चिकित्सक उनको उपचारका लागि पाँच हजार रुपैयाँ पनि चन्दा दिन नसक्ने हैसियतमा छैनन् । तर ती चिकित्सकलाई चन्दा दिने फुर्सद पनि नभएको जस्तो देखिन्छ । एक हिसाबले यो उनको अधिकार र चिकित्सकको दायित्व पनि हो ।
जोहो गरेको केही सम्पत्ति बेचेर उपचार गर्न पनि छोराछोरी सडकमा पुग्छन् भन्ने उनलाई डर छ । १२ वर्षको छोरा मानसिक अपाङ्ग छ । अरु दुइ ९ र ५ वर्षका छोरी र श्रीमतीको खाने बाटो टुटाएर उपचार गरी परिवारको विचल्ली पार्न मन छैन उनलाई । त्यसैले उनी सरकारबाट आर्थिक सहयोग पाउनु आफ्नो अधिकार भएको ठान्छन् । कतिपय उपचार र निदान नेपालमा संभव नभएकोले बाँचुन्जेल तीन÷तीन महिनामा उनी भारत जानुपर्छ । मृत्यु अगाडि देखिएको अवस्थामा काममा फर्किन सक्ने अवस्था पनि छैन । एक हिसाबले उनीमाथि समयले ठूलो प्रहार गरेको छ ।
उनको दिल्ली बसाइ पनि चैन छैन । साथीभाई, परिवार र कामबाट टाढिएर मृत्युसँग लड्नु चुनौतीपूर्ण छ । त्यसमा पनि त्यस्तो पीडा लिएर दिल्लीका अस्पताल पुग्ने नेपालीको दुःखले झन् मन पिरोल्ने गर्छ । कतिपय अवस्थामा लाश देख्दा उत्पन्न हुने डरले मुटुमा गहिरोसँग घोच्छ । विरामीको रुपमा अस्पतालमा रहँदा उनले सुनेको नेपाली बिरामीको गुनासोले उनमा चिकित्सा समुदायप्रति धेरै गुनासा जन्माएको छ । भारत पुगेका क्यान्सरका धेरै विरामी नेपाली चिकित्सकसँग असन्तुष्ट र दुःखी भएको भेटे उनले । जिल्लामा सीमित साधन र स्रोतका बिचमा पनि गुनासो गर्ने ठाउँ नछोडेका उनलाई अहिले आफ्नै पेशाले पनि गिज्याइरहेको भान परेको छ ।
उपचारका लागि पुगेकाहरु चिकित्सकहरुले निको हुन्छ भनेको सुनेको भरमा आशा पाल्दा पाल्दै बाँच्छन् । उनी चिकित्सक हुनुको बेफाइदा यहाँ देखिएको छ । ‘मलाई चिकित्सकले पनि लुकाउन सक्दैनन्, के हुन्छ र के रहेछ भन्ने मलाई थाहा भइहाल्छ ।’ उनी भन्छन्, ‘मेरै छोराछोरीका लागि म अहिले कटौरा थापेर हिँडिरहेको छु ।’
अहिले उनका लागि सबैभन्दा ठूलो दुस्मन नै क्यान्सर भएर आएको छ । जीवनमा मोजमस्ती गरेर र जथाभावी खानपान गरेर यो रोग भएको पनि हैन । सबैलाई राम्रो गर्छु भन्ने मान्छेलाई नै समयले राम्रो गरेन, बज्रपात पा¥यो । साभार श्रोतः -स्वास्थ्य खबरपत्रिका

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट