के हो त कानको संक्रमण (जानी राखौं)

 CLICK
कानको संक्रमणमा असह्य पीडा उत्पन्न हुन्छ । चिकित्सा विज्ञानले भित्री र बाह्य कानको संक्रमण भनेर यस समस्यालाई दुई वर्गमा छुट्याएको छ । संक्रमणको प्रकार चाहिँ तीन किसिमको हुन्छ । पहिलो हो एक्युट ओटाइटिस मिडिया (एओएम), दोस्रोमा पर्छ ओटाइटिस मिडिया विथ इफ्युजन (ओएमई) र तेस्रो हो ओटाइटिस एक्सटर्ना । विशेषगरी कानको संक्रमण बालबालिकालाई बढी हुने गर्छ । तेस्रो वर्षमा पुगेका चारमध्ये तीन बच्चालाई कानको कुनै न कुनै किसिमको समस्याले सताउँछ । कानमा संक्रमण उत्पन्न हुनुमा विभिन्न कारण जिम्मेवार हुन्छन् । उमेर, संक्रमणको पारिवारिक इतिहास, एलर्जी तथा रुघा, जन्म विकार, कुनै चिकित्सा समस्या त जिम्मेवार हुन्छन् नै कमजोर प्रतिरक्षा प्रणाली भएमा र सिसीले दूध पिउने बच्चामा पनि संक्रमणको जोखिम रहन्छ । चिकित्सा अभ्यासले देखाएको पनि छ तीन वर्ष नपुगेका बालबालिकालाई कानको संक्रमण हुने सम्भावना अधिक हुन्छ । रुघा बढी लाग्ने र एलर्जीले बारम्बार सताउने मानिसलाई पनि जोखिम वर्गमा राखिन्छ । शिशुलाई सुताएर सिसीमा दूध पिलाउने आमाले सचेत हुनु जरुरी छ । सुताएर दूध पिलाउँदा मुखबाट दूध बगेर कानमा छिर्ने सम्भावना भएकाले काखमा राखेर मात्र दूध पिलाउनुपर्छ । 

अचम्म लाग्नसक्छ धूमपानको प्रभावमा परेका बालबालिकालाई समेत कानको संक्रमण हुने खतरा हुन्छ । धूमपान गर्ने आमाबाबुका सन्तान वा अन्य कुनै क्षेत्रमा बारम्बार चुरोट, बिँडी, तमाखुको धुवाँले प्रभावित बालबालिकाको कानको मध्यभागमा तरल पदार्थ जमेर उनीहरू कम सुन्ने र संक्रमणको शिकार हुने देखिएको छ । आमाबाबुले नै धूमपान गर्छन् भने उनीहरूको बच्चालाई कानमा एक्युट ओटाइटिस मिडिया हुने खतरा दोब्बर हुने गर्छ । धूमपान कत्तिको गर्छन् भन्नेमा पनि यो दर निर्भर रहन्छ । धुवाँले प्रभावले शरीरको प्रतिरक्षा प्रणालीले प्रतिक्रिया देखाउँछ र कान वरिपरिको लिम्फनोड र अन्य ग्रन्थी सुन्निन्छ । 

ओटाइटिस मिडिया कानको मध्य भागमा संक्रमण हुने समस्या हो । रुघा लागेको वा माथिल्लो श्वास प्रश्वास प्रणालीमा संक्रमण भएको अवस्थामा व्याक्टेरियाले कानमा प्रवेश पाउँछन् र ओटाइटिस मिडिया हुन्छ तर, कानको धेरै जसो संक्रमण भाइरसले गर्दा हुने गर्छ । पौडी खेल्दा वा नुहाउँदा कानमा पानी छिरेर पनि कानको संक्रमण हुन्छ । बाह्य कान र कानको प्वालको ओसिलो र अध्याँरो भागमा व्याक्टेरियाले वृद्धि हुने मौका पाउँदा त्यो समस्या उत्पन्न हुने गर्छ । जसलाई ओटाइटिस एक्सटर्ना भनिन्छ । तर, सबैभन्दा बढी देखिने समस्याचाहिँ एक्युट ओटाइटिस मिडिया हो । यस समस्यामा कानको भित्रको नली तरल पदार्थ वा फोहरले बन्द भई संक्रमण भएर सुन्निन्छ । सबै किसिमको कानको संक्रमणको लक्ष्ण प्रायः मिल्दोजुल्दो हुन्छ । एक्युट ओटाइटिस मिडिया भएमा ज्वरो आउने, कम सुन्ने, टाउको दुख्ने, कानबाट तरल पदार्थ बग्ने, कान भरिएको महसुस हुनेलगायतका लक्षण उत्पन्न हुन्छ । आफ्नो समस्या भन्न नसक्ने बच्चा रोइरहने, सुत्न नसक्ने, नखाने तथा संक्रमणले कानको जालीमा गहिरो प्रभाव पारेमा कानबाट पिप र रगत बग्ने गर्छ । 

ओटाइटिस एक्सटर्ना भएको खण्डमा कानको बाह्य भागमा निकै चिलाउने र दुख्ने र हिँड्दा वा हल्चल गर्दा पीडा बढ्ने गर्छ । हल्का पहेँलो रङको फोहर कानबाट निस्केमा व्यक्तिलाई राहत महसुस हुन्छ । अर्काेतर्फ ओटाइटिस मिडिया विथ इफ्युजनमा मध्य कानभित्र तरल पदार्थ थुनिएको हुन्छ । प्रायः यसले लक्षण देखाउँदैन र चाल नदिएरै निको हुन्छ । एजेन्सी
श्रोतः gorkhapatraonline.com

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट