**चर्चित हास्य टेलिश्रृङखला भद्रगोल प्रशारण हुन अझै चार हप्ता लाग्ने**

काठमाण्डु, १० चैत – नेपाल टेलिभिजनको चर्चित हास्य टेलिश्रृङखला भद्रगोल प्रशारण हुन अझै चार हप्ता लाग्ने भएको छ ।
गत शुक्रबार नेपाल टेलिभिजनले भद्रगोल प्रशारण हुने समयको पुनः टेण्डर आव्हान गरेको छ । भद्रगोलका निर्देशक शंकर आचार्यले भने, ‘बढिमा चार हप्तामा भद्रगोल पुनःप्रशारण हुने अपेक्षा गरेका छौं ।’
यस हास्य श्रृङ्खलाको विज्ञापन र प्रायोजन जुटाउँदै आएको वल्र्ड भिजन एडभर्टाइजिङले कीर्ते बैंक ग्यारेन्टी जुटाएको भन्दै नेपाल टेलिभिजनले सम्झौता रद्द गरेको थियो । सम्झौता रद्द भएलगत्तै केही समय यता भद्रगोल र अर्को हास्य श्रृङ्खला जिरे खुर्सानीसहित तीन कार्यक्रम पनि बन्द भएका हुन् ।
भद्रगोलका निर्देशक आचार्यले भने, ‘कार्यक्रम बन्द हुँदा हामी र हाम्रा लाखौं दर्शक, शुभचिन्तक निराश छन् । दोष अरुलाई दिन चाहन्न, हाम्रै भाग्य खोटो रैछ ।’
भद्रगोल यस अघि दसै तिहार ताक पनि तीन भाग बन्द भएको थियो । कार्यक्रम बन्द भएकोले यसका मुख्य कलाकारहरु विभिन्न स्टेज सोमा व्यस्त छन् । कार्यक्रमको सुटिङ कहिलेदेखि हुने तय नभएकोले कलाकारहरुलाई स्टेज सोमा जान सजिलो भएको छ । श्रृङखलामा वरिष्ठे दाईको भूमिकामा दर्शकसामु देखा पर्ने निर्देशक आचार्यले भने,‘ स्टेज सो मात्रै भएर के गर्नु, मुख्य काम नै रोकियो ।’
नक्कली बैक ग्यारेन्टी प्रकरणमा नेपाल टेलिभिजनका केही कर्मचारी निलम्वनमा परेका थिए भने वल्र्ड भिजनका मालिक दिनेश श्रेष्ठ हनुमान ढोकामा थुनिएका थिए ।source: kathmandutoday

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट