कृष्ण दर्नाल
पाल्पा, भदौ ४ – ‘वल्ड इज गोल्ड’ अर्थात् पुराना कुरा सुनौला वा मूल्यवान् हुन्छ भने झैँ नेपाल भ्रमणमा आउने पर्यटकहरू पनि यहाँका पुरातात्विक ऐतिहासिक एवम् धार्मिक सम्पदाहरू हेर्न रुचाउँछन् ।
सेन तथा राणाकालीन समयमा निर्मित पाल्पाका ऐतिहासिक महत्व बोकेका र कलात्मकरुपमा सजिएका यहाँका सुन्दर मन्दिरको भ्रमण गरेबाट पनि पुष्टि हुने गर्दछ । यी सम्पदाहरूले बर्सेनि स्वदेशी वा विदेशी हजारौँ पर्यटकहरू तान्न सफल बनेका छन् ।
प्राचीन शैलीमा निर्मित यहाँका मन्दिरमा सजिएका काष्ठकलाको बेजोड नमुनाहरू झ्याल, ढोका, पर्खालमा प्राचीन कलात्मकताको झल्को दिन्छन् । यसको अवलोकन तथा अनुसन्धान गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।
पाल्पा पुग्ने अधिकांश पर्यटकलाई सदरमुकाम तानसेनस्थित अमरनारायण मन्दिर मुख्य गन्तव्य बन्ने गर्दछ । यहाँ जाने जो कोहीले पनि मन्दिरमा कुँदिएका हस्तकला र काष्ठकलाको बेजोड नमुनाहरूले निकै आकर्षित बनाउँछ ।
यस मन्दिरका झ्याल, ढोका, ठाम र पर्खालमा हातले कुँदेका कलात्मक हस्तकलाले यहाँको प्राचीन कलात्मकतालाई झल्काउने जिल्ला विकास समितिका सूचना अधिकृत दुर्गाबहादुर थापाले बताए ।
विसं १९६३ मा सानाकाजी अमरसिंह थापाले निर्माण गरेको यस मन्दिर तानसेन दरबारको पूर्वतर्फ अवस्थित छ । यस मन्दिरमा हातले कुँदेका काठका झ्याल, ढोका र थाममा विभिन्न देवीदेवता, बाघका आकृति हेर्दा साँच्चीकै जस्तो लाग्दछ ।
मन्दिरका इँटाका पर्खालमा जोडीका आकृति पनि सजिलै देख्न सकिन्छ । यस मन्दिरमा भाद्र कृष्ण नवमीका दिन जाग्राम बस्ने र प्रायः भोलिपल्ट रोहिणी नक्षत्र जुराएर यसको रथ यात्रा गर्ने परम्परा रहेको छ ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीयरुपमा समेत महत्वपूर्ण स्थान राख्ने जिल्लाका अन्य मन्दिरले पनि पछिल्ला वर्षहरूमा पर्यटकका मन जित्न सफल भएका छन् । रणउजिश्वरी मन्दिर (स्थानीयले भगवती मन्दिरले चिन्छन्) यहाँको अर्को प्रसिद्ध मन्दिर मानिन्छ ।
तानसेन दरबारदेखि उत्तरतर्फ नजिकै रहेको यस मन्दिर कर्णेल उजिरसिंह थापा (अमरसिंह थापाका नाति) ले बनाएका हुन् । यस मन्दिर अगाडि दुईवटा विशाल शेरको मूर्तिहरू हेर्नलायक छ ।
कर्णेल उजिरसिंह थापाले जीतगढी युद्धमा नेपालको विजय होस् भनी भाकल गरी गएको र पछि नेपालले अङ्ग्रेजलाई हराएपछि १८७२ सालमा सो मन्दिर निर्माण गर्न सुरु गरी १८७६ सालमा निर्माण पूरा गरिएको थियो । अङ्ग्रेजलाई पराजित गरेको खुसियालीमा विजय यात्रा निकालिएको लेखक तथा तानसेन बसन्तपुरका निर्मल श्रेष्ठले बताए ।
विसं १८७६ मा मन्दिरको निर्माण काम पूरा गरी अष्ठधातुबाट बनेको अठार बाहु भएकी महिषसुर मर्दिनी भगवतीको प्रतिमा प्रतिस्थापन गरी उजिरसिंह थापाको नेतृत्वमा सिन्दूर जात्रा गरिएको बताइन्छ ।
भगवतीको महिमा चारैतिर फैलाउन हरेक वर्ष भाद्रकृष्ण नवमीका दिन वर्षबन्धनको पूजा गरी भगवतीको रथसहित जात्रा निकाल्ने परम्परा रहेको श्रेष्ठको भनाइ छ । भगवतीको रथसहित जात्रामा नेपाली सेना, प्रहरी, सरकारी कर्मचारी, विद्यार्थी राजनीतिक दलका प्रतिनिधिहरू जात्रामा तानसेन परिक्रमा गर्ने चलन अहिले पनि रहेको छ ।
भैरवस्थानस्थित सुनौलो आकारको त्रिशूल रहेको कालभैरव मन्दिर पनि जिल्लाको अर्को आकर्षणको केन्द्र हो । सोह्रौँ शताब्दीमा नै निर्मित पेगोडा शैलीको तीनतले यस मन्दिरमा एसियाको ठूलो पित्तलबाट निर्मित त्रिशूल रहेको छ भने सुनको जलप (मल्वा चढाइएको) छ ।
जिल्ला सदरमुकाम तानसेनदेखि नौ किलोमिटर पश्चिममा अवस्थित यस मन्दिरबाट दर्जनौँ हिमशिखरको दृश्यावलोकन गर्न सकिन्छ । मन्दिरको भूइँतलामा महाकाल भैरवका पुजारीबाहेक अरु कोहीले पनि हेर्न पाउँदैनन् । तर, माथिल्लो तलामा राखिएको बटुक कालभैरवको मूर्तिलाई भने सर्वसाधारणले दर्शन र पूजा गर्न सकिने मन्दिरका सञ्चालक समिति सदस्य लोकनाथ शर्मा बताउँछन् ।
यस मन्दिरमा विशेषगरी मङ्सिर र बैशाख महिना, विजयादशमी, र प्रत्येक शनिबार, मङ्गलबारका विशेष पूजा हुने गर्दछ । यहाँ पूजा गर्दा आफ्नो मनोकांक्षा पूरा गर्न भाकल गरी रोट र पञ्चवली चढाउँछन् ।
पाल्पाका सेनवंशीय राजा मुकुन्द सेन प्रथमले काठमाडौँको मच्छिन्द्रनाथको रथ अगाडि राख्ने भैरवको मूर्ति उखेली पाल्पा ल्याई यस मन्दिर स्थापना गरेको भन्ने भनाइ रहेको छ ।
नेपालका चारधाममध्ये एक रुरु धामस्थित ऋषिकेश मन्दिरमा पूजाआजाका लागि मानिसहरू जाने गर्दछन् । सदरमुकामदेखि ३० किलोमिटर पश्चिममा अवस्थित ऋषिकेश मन्दिरमा भने पशुवली चढ्दैन ।
विश्वको सबैभन्दा ठूलो शालिग्राम रहेको यस मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्व झनै रहेको मन्दिरका पुजारी चुडामणि तिमिल्सिनाले बताए । रुरु क्षेत्रमा परापूर्वकालमा रुरु कन्याले विष्णुको तपस्या गरी उनलाई खुसी बनाई सदाका लागि त्यहीँ बस्न बाध्य बनाएको भन्ने किम्वदन्ती छ ।
नेपालको वनारस भनेर चिनिने यस क्षेत्रमा भृगुतुङ्गेश्वर ऋषिको गुफा एवम् भगवान् विष्णुको मूर्ति तथा अन्य देवीदेवताको कलात्मक दर्जनौँ मूर्ति देख्न पाइन्छ । पाल्पा, गुल्मी, स्याङ्जा जिल्लाको सङ्गम स्थलका रुपमा यो मन्दिर रहेको छ । यहाँ माघे संक्रान्ति, वैशाख पूर्णिमा, कात्तिक पूर्णिमाका दिनमा विशेष पूजा हुने गर्दछ ।
यस्तै ताहुको रम्भादेवीको मन्दिरको महिमा पनि कम छैन । भुवनपोखरीको रैनादेवी मन्दिर, तानसेनमा रहेको एसियाको ठूलो करुवा, पाल्पा दरबारनजिकै रहेको काठको ढोका पनि एसियाकै विशाल ढोका पर्यटनका लागि हेर्नलायक ऐतिहासिक सम्पदा हुन् ।
रानीमहल दरबार जिल्ला सदरमुकाम तानसेनदेखि १६ किलोमिटर उत्तरमा बौघागुम्वा गाविस–२ मा कालीगण्डकी नदीको भिरालो चट्टान रहेको यो दरबारलाई नेपालको ‘ताजमहल’ नामले समेत चिनिन्छ ।
पाल्पा गैँडाका तत्कालीन तैनाथवाला र पश्चिम कमाण्डर जनरल खड्गशमशेरले आफ्नो प्यारी रानी तेजकुमारीदेवीको १९४९ सालमा पाल्पामै निधन भएको थियो । उनकै सम्झनामा १९५० मा शिलाल्यास गरी १९५४ मा निर्माण कार्य पूरा भएको जानकारहरू बताउँछन् ।
दरबार तेजकुमारीको सम्झनामा निर्मित हुनाले यसलाई ‘तेजमहल’ पनि चलन रहेको छ । कलाकौशल प्रयोग गरी निर्मित रानीमहल दरबारको ऐतिहासिक, एवम पर्यटकीय महत्व उल्लेखीय रहेकाले पनि यस दरबार क्षेत्रले पर्यटन आकर्षणको कोसेढुङ्गा बनेको छ ।
त्यस्तै, पाल्पाका कौडेलेक, हात्तीलेक, सत्यवती ताल, रिब्दीकोट जलेश्वर, अर्गली दरबार, पाल्पा दरबार, पाल्पाका धवल पुस्तकालय दर्लमडाँडाको दर्लमकाली मन्दिर पनि यहाँका आकर्षण स्थलहरू हुन् ।
ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेका जिल्लाको यी मन्दिरको उचित संरक्षण हुन नसक्दा जीर्ण बन्दै गएका छन् । जिल्लामा रहेका सेनकालीन तथा राणाकालीन सम्पदाहरूको संरक्षण गर्न सकिएमा धर्म संस्कृति, मौलिक परम्परागत कलाको प्रचारप्रसार भई बढीभन्दा बढी पर्यटकहरू आकर्षित गर्न सकिने सम्भावना प्रसस्त रहेको छ ।