काठमाडौं : एसीसी यु-१६ प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपाल विजयी भएको छ। किन्रारा क्रिकेट मैदानमा भएको खेलमा आयोजक मलेसियालाई नेपालले ३२ रनलेपराजित गरेको हो। नेपालले मलेसियालाई ३६ ओभरमा १२९ रनमै समेटेको छ।
१६२ रनको लक्ष्य पछ्याएको घरेलु टोली मलेसियन ३६ ओभरमा १२९ रन बनाउदा अल आउट हुन बाध्य भयो। ३३ ओभरमा ६ विकेट गुमाएर १२२ रन बनाएको मलेसियाले थप ७ रनका लागि चार विकेट गुमाउन पुग्यो। यो नेपालको लगातार पाँचौ जित हो। यसअघि नेपाली युवाटोलीले पहिलो खेलमा थाइल्यान्डलाई १० विकेट, दोस्रो खेलमा सिंगापुरलाई ४९ रन र तेस्रो खेलमा ओमानलाई १ सय २ रनले पाराजित गरेको थियो भने सोमबार भएको चौथो खेलमा बहराइनलाई ४७ रनमै समेटेको थियो।
योसँगै नेपालले एसीसी यु-१६ प्रिमियर लिग उपाधि चुम्न सफल भएको हो। नेपालका पवन सर्राफ एसीसी यु-१६ प्रिमियर लिगको 'म्यान अफ दि म्याच' घोषित भए।
नेपालले ९ विकेटको क्षतिमा ४० ओभरमा १६१ रनको बनाएको थियो। नेपालका लागि रवि चन्दले ३४ रनको योदान गरे भने पवन सर्राफले सर्वाधिक ४४ रनको योगदान बनाए। २६ बल खेलेका पवनले २ छक्का र ४ चौका प्रहार गरेका थिए। यस्तै मलेसियाका एम इस्लाहले ३२ रनमा ४ विकेट लिए।
राउन्ड नेपालले अन्तिमपटक उमेरस्तरको प्रतियोगिताको उपाधि जित्दा २००९ मा एसीसी यू १७ एलिट कपको फाइनलमा मलेसियालाई नै हराएको थियो।