काठमाडौं, कात्तिक १९– विदेशमा रहेका युवकलाई फेसबुकबाट श्रीमतीबारे गलत सन्देश पठाई चरित्रहत्या गरेको आरोपमा रामेछाप मन्थलीका मंगलबहादुर तामाङ पक्राउ परेका छन् । विदेशमा रहेका गाउँकै एक साथीलाई उनले श्रीमतीको चरित्रबारे गलत सन्देश पठाएका थिए ।
नक्कली फेसबुक आइडी बनाई तामाङले फेसबुकमा त्यस्ता कुरा बारम्बार पठाएका थिए । पछि, गलत कुरा पैलाएको खुलेपछि रमेशकी श्रीमतीले प्रहरीमा उजुरी गरेकी हुन् । पीडितले शंका लागेर मंगल तामाङमाथि नै शंका गरेकोमा पक्राउ गरी छानबिन गर्दा उनले आफ्नो गल्ती स्वीकार गरेका हुन् । नक्कली फेसबुक आइडीको नाम पनि मंगले भएकोले पीडितले उनीमाथि शंका गरेकी थिइन् ।
घर निर्माणमा मिस्त्रीका रुपमा काम गर्ने तामाङलाई महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार पक्राउ गरेको हो । उनले त्यसगरी चरित्रहत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । फेसबुकमा लेखिएकामध्ये केही कुरामात्र आफूले लेखेको उनले बताएका छन् । तामाङलाई प्रहरीले विद्युतीय कारोबार ऐनअनुसार कारबाही गर्ने जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।