सोमपाल कामी साह्रै दामी

नेपाली क्रिकेट टिम डिभीजन–३ को उपाधि लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आईपुगेको थियो । क्रिकेट प्रशंसकहरुको भिडले एकै स्वरमा नारा लगाईरहेको थियो, ‘सोमपाल कामी साह्रै दामी ।’
राजेश भण्डारी
अष्ट्रेलियन स्पिनर सेन वानलाई ‘किङ अफ लेग स्पिन’को रुपमा चिनिन्छ । अनि पाकिस्तानी क्रिकेटर सोएव अख्तर भने ‘दुनियााकै तेज बलर’ का रुपमा परिचीत छन् । भनिन्छ, अख्तरको बलिङ हमला देखेर भारतीय महान खेलाडी सचिन तेन्दुलकर र राहुल द्रविण पनि डराउँथे । यी दुवै खेलाडीलाई नेपालीहरुले टेलिभीजनका पर्दामा हेर्न पाए । धेरै नेपालीले वेला–बेला मात्रै हेरे र च्यानल चेन्ज गरिहाले । तर सोमपाल कामीले भने सेन र अख्तरको बलिङ हमला देखाउने टिभी च्यानल कहिल्यै परिवर्तन गरेनन् । त्यसैले सोमपाल कामी ‘सेन वान र सोएव अख्तर’का फ्यान हुन् ।
तीन बर्षको दुधे वालक हुँदै भारतको पञ्जाव गएर बस्न थालेका सोमपालले पञ्जावकै क्रिकेट मैदानहरुमा सेन वान र सोएव अख्तरका स्टाईल हरुलाई पछ्याए । ‘सेनको खेल हेरेपछि यस्तो लाग्यो कि, म लेगस्पिनर बन्छु ।’ सोमपालले पहिलो वाक्य वोले । सोमपालका काका पञ्जावमै क्रिकेट खेल्थे । काकाले खेलेका म्याचहरु हेर्दा हेर्दै सोमपालले थाहा पाए कि ‘वोल्ड धरापमा यसरी परिँदो रहेछ’ । काकाले खेलेको हेरेकै भरमा सोमपाललाई क्रिकेट मन पर्न थाल्यो र त्यसमै उनले भविष्य बनाउने सोचे,अनि क्रिकेटलाई जीवन बनाए । ‘यसरी मेरो सौख बास्तविकतामा बद्लीयो’ सोमपालले भने ।
धेरै बर्ष भारतमा विताएकाले होला सोमपालको टोन पुरै हिन्दी जस्तो सुनिन्छ । ‘क्रिकेट अलिअलि बुझेपछि मैले सेन र अख्तरको स्टाईल पछ्याउन थालिहालें’ । हिन्दी लवजमा सोमपाल बोले । कहिले उनले लेगस्पिनर बन्ने अभ्यास गरे,कहिले अख्तरको तेज बलिङ स्टाईल पछ्याए । उनले त्यतिवेला सोचेका थिएनन् कि ‘यति फास्ट बलिङ गर्न सक्छु’ । मात्र मेहनत गरिरहे ।
सोमपालकै भाषामा आफ्ना ड्याड सँग उनि भारत बस्थे । ‘मम’ अर्थात उनकी आमा भने यतै गुल्मीतिरै थिईन् । सोमपालले १५ बर्ष भारतमा विताए । भारतमा रहँदा उनले साना प्रतियोगीताहरु खेल्न थालिसकेका थिए । अर्का क्रिकेटर अर्जुन अधिकारी उनका नजिकका साथी थिए । ‘अर्जुन र मैलेसंगै क्रिकेट त खेलेनौं तर हामी फेसवुकमा सम्पर्कमा थियौं’। सोमपाल बोले ।
एकदिन सोमपाललाई अर्जुनले फेसवुकमा मेसेज गरे ‘नेपालमा क्रिकेट खेल्छौ सोमपाल ?’ त्यतिवेला सोमपालले पञ्जावमा राम्रै खेलाडीको पहिचान बनाईसकेका थिए । सोमपालले अर्जुनका लागी मेसेज टाईप गरे ‘हजुर, खेल्छु अहिले पनि खेल्दै छु ।’ अर्जुनको पालो ‘नागरीकता छ ?’ सोमपाल वोले ‘मेरो छैन बट मम ड्याडको छ ।’ फेसवुक कुराकानीको निष्कर्ष आयो ‘मौका मिलेमा सोमपाल नेपालबाट खेल्न राजी भए ।’ परिणाम आज सोमपाल नेपाली राष्ट्रिय क्रिकेट टिमको उत्कृष्ठ युवा बलर हुदै एसियाड खेल्ने देशहरुको ड्रिम टिममा परिसकेका छन् ।
अर्जुन अधिकारीले पहिल्यै भनेका थिए,नेपाल बाट खेल्न थालेपछि भारतबाट खेल्न मिल्दैन । सोमपाल,अधिकारीको त्यो शर्तसंग राजी भएरै नेपाली मैदानमा छिरे । ‘यहाँ आएपछि पुवुदु सर जस्ता राम्रा मान्छेको संगत र मेरो पर्फमेन्सले म टिममा परेँ ।’ सोमपाल आफ्ना प्रशिक्षक प्रति कृतज्ञ देखिए ।

जर्नी टु वल्र्डकप देखि डिभीजन–३ सम्म
पछिल्लो समय निकै चर्चामा रहेका सोमपाल कामीले ‘जर्नी टु वल्डकप’ बाट अन्तर्राष्ट्रिय प्रतियोगीतामा डेब्यु गरे । युवा बलर सोमपालको प्रदर्शन पछिल्लो समय नीकै उत्कृष्ठ देखिएको छ । उनले यसअघि टि ट्वान्टी विश्वकपमा समेत नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका थिए ।
नेपालले डिभीजन थ्रिको उपाधी जित्दा सोमपालको योगदान महत्वपुर्ण रह्यो । नेपाल यसअघि पनि डिभीजन थ्री च्याम्पियन भैसकेको थियो, तर अघिल्लो च्याम्पियन यात्रामा सोमपाल थिएनन् ।
‘अघिल्लो च्याम्पियन्स यात्राको सारथी म बन्न सकिन्,तर डिभीजन टु मा नराम्ररी हारेर डिभीजन थ्रिमा आयौं’ सोमपालले भने । सोमपाल थप्छन्, ‘पुवुदु सरले यहि भन्नुहुन्थ्यो की ‘उई आर च्याम्पियन’ पहिले नै च्याम्पियन भैसकेकाले हामीले च्यम्पियनकै तरफ खेल्यौं र जित्यौं । निकै खुसी छु ।
नेपाली क्रिकेटसँग निकै पछि मात्र मितेरी गास्न आएका सोमपालले आम नेपालीको मन जितिसकेका छन् । ‘भारतमा खेल्दा पनि खुसी थिएँ तर यहाँ(नेपालमा) पब्लिक र सहकर्मी बाट धेरै प्यार पाएको छु ।’ उनले भने । फ्यानको मायाले सोमपालको खुसीमा अर्को ईट्टा थपिदिएको छ ।
पञ्जावमा बलिङ गरिरहँदा सोमपाल सोच्थे ‘ यो बलिङ हमला नेपालमा गएर गरौं ।’ नेपाल गएर खेल्ने सोचेपनि विश्वकप खेल्नेबारे भने उनले सोचेकै थिएनन् । तर पनि उनको भित्री मनको एउटा कुनामा भने एउटा ड्रिम थियो, वल्डकप खेल्ने । तर त्यो सपना यत्ति चाँडै विपनामा परिवर्तनबारे सोचेकै थिएनन् । त्यहि विपनाको वलिङ गर्न पाउँदा सोमपाल भन्दा बढि खुसी को होला र ? नेपालको टी–ट्वान्टी वल्र्डकपको स्ट्याटस कायमै रहोस, अव फिप्टी ओभरको र टेष्टको पनि टिम बन्न सकोस नेपाल । यत्ति छ सोमपालको कामना ।

नेपाली क्रिकेट टिम मेरो परिवार
नेपाल क्रिकेट टिमलाई आफ्नो परिवार मान्छन सोमपाल कामी । ‘सवै दाईहरुले हर कुरामा बुस्ट गर्नुहुन्छ’ उनले भने । प्रतियोगीता र प्रशिक्षणको दौरानमा सोमपालका रुमपार्टनर हुन शक्ति गौचन । ‘शक्ति दाईले सुत्न देखि लिएर उठ्ने सम्मको टाईमिङ गर्नुहुन्छ, उहाँ त मेरो गुरुनै हुनुभयो ।’ शक्तिले उनलाई आफ्नो लाईफ स्टोरी बताउने गरेका छन् । शक्तिको जिवनबाट प्रभावित सोमपाल शक्ति जस्तै ‘लङ टाईम’ खेल्न चाहन्छन् । शक्ति गौचनले भारतमै खेलेर नेपालमा आफ्नो स्थान सुरक्षीत गरेका थिए । ठीक त्यस्तै सोमपाल पनि चाहन्छन ‘नेपालका लागी वल्र्डकप खेलौं, ओडीआई स्टाटस ल्याऔं र टेष्ट क्रिकेट टिम पनि बनौ ।’
नेपालमा जमिरहेका सोमपाल तत्काल भारत फर्कने सोचमा छैनन् । उनका आमा वुवा अहिले पनि भारतमै छन् । उनको वुवा भारतमा सरकारी जागीरे छन् । भारतमा रहेका सोमपालका वुवा आमा उनको प्रदर्शन बाट खुसी छन् । ‘आफन्त र साथीभाइका परिवारले मेरा मम–ड्याड संग सम्पर्क गरेर मेरो प्रशंसा गरेको सुन्न पाउँदा धेरै खुसी लग्छ’ सोमपालले भने ।’
विश्व च्याम्पियन भारत छाडेर आएका सोमपाललाई नेपाल आएर हतार गरेछु जस्तो पटक्कै लाग्दैन । ‘अव भारत फर्कन्न, सकेको योगदान नेपाललाई गर्छु ।’ उनले भने । नेपालको क्रिकेट विकास गर्न सवै परिवारले आफन बालवच्चालाई क्रिकेट खेल्न प्रोत्साहीत गर्नुपर्ने बताउँछन् सोमपाल । ‘फेम्लीवालाले अव आफ्ना छोराछोरीलाई ‘तिमी नखेल’ भनेर नभनुन’ । सोमपालले भने । उनले थपे‘धेरै एकेडेमी खोलीयोस, क्रिकेट खेलाडी पुराना होस या नयाँ सवैलाई प्यार मिलोस ।’
सोमपालको चाहना थियो ‘वल्र्डकपमा मलाई दुनियाले हेरोस’ । आखिर उनको चाहना अनुसार नै भैदियो । ‘वल्र्डकप ताकाका तिन दिन मेरा लागी सवैभन्दा बेस्ट दिन थिए’ । उनले ति दिन संझिए ।

सोमपालको चाहना क्रिकेट मैदान
उदियमान नेपाली क्रिकेटर सोमपाल नेपालमा धेरै भन्दा धेरै क्रिकेट मैदान बनेको हेर्न चाहन्छन् । जसले गर्दा विदेशमा गएर प्राक्टिश गर्न नपरोस । ‘जति मैदान बन्छ, त्यति खेलाडी जन्मन्छन् ।’ सोमपालले भने । अहिलेको नेपाली टोलीलाई कभर गर्ने नयाँ प्लेयर आउन, जसले नेपाली क्रिकेटलाई अझै गति दिन सकोस । यहि छ सोमपालको चाहना ।
विदेशमा जाँदा त्यहाँका मैदान देखेपछि आफ्नो देश संझन्छन र खल्लो मान्छन् सोमपाल । ‘धेरै खल्लो लाग्छ ।’ उनले भने । सोएव अख्तरका फ्यान सोमपाल उनि जस्तै फास्ट बलर बन्ने अभियानमा छन् । ‘बन्न त सकिन, तर बन्ने कोशिस गर्दैछु’ उनले संवाद टुंग्याए ।-Source: http://www.ratopati.com

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट