`‘जनयुद्ध’ लडेर खाडी मुलुक पसेका पूर्वलडाकूको मार्मिक चिठी`

हुन त कलिलो उमेरमै यहाँहरुले सुरु गर्नुभएको जनयुद्धमा सामेल भएको मलाई मुठ्ठी बटारेर क्रान्तिकारी अभिवाद गर्न मन थियो तर, यो परदेशी भूमिमा पसिना बगाउँदैमा थाकेको मलाई त्यति ठूलो ऊर्जा प्राप्त हुन सकेन ।
पढ्ने उमेरमा यहाँहरुले थाल्नु भएको परिर्वनको आन्दोलनमा केहि योगदान दिऔं भनेर होमिएको म र मलागाएत साथीहरु यहाँ परदेशी भूमिमा दिनहरु काट्दै गर्दा आज २० वर्षअघि सुरु गर्नुभएको जनयुद्ध दिवस परेकाले जनयुद्धको नेतृत्व गर्नुभएका तपाईहरु (कमरेड प्रचण्ड, लालध्वज, किरण, बादल विप्लव) हरुलाई यो पत्र लेख्ने जमर्को गर्दैछु ।
आफ्नो ऊर्जाशील उज्वल समय ज्यानको बाजी थापेर आन्दोलनमा खर्चदै जनताको मुक्तिको लागि योगदान दिएको एक योद्धा भएको नाताले लेख्न हुने या नहुने भन्ने अन्यौलताका बीच लेखेको पत्र तपाईहरुले स्वीकार गर्नुहुनेछ भन्ने आशा समेत राखेको छु ।
जतिबेला हामी आफ्नो उज्वल भविष्यको कल्पनासहित विद्यालयमा पढ्दै थियौ ठीक त्यति नै बेला यहाँहरुले हामीले पढेका शिक्षालाई बुर्जुवा शिक्षाको संज्ञा दिँदै क्रन्ति र परिवर्तको लागि लड्नुपर्ने भन्दै उक्साउन थाल्नुभयो । तपाईहरुको सामन्तीहरुलाई परास्त गर्नुपर्ने अभियान एक हिसावमा हामी गरीबीमा बाँचेका किशोरहरुलाई उचित लाग्नु स्वावाभिकै पनि हो । एकातिर हामीलाई बिहान बेलुका हकात मुख जोर्न धौधौ थियो भने अर्कोतिर समाजकै ठूला भनिएकाहरुको थिचोमिचो पनि खपिनसक्नु नै थियो । यस्तो अवस्थामा तपाईहरुको सामान्ती व्यवस्थाको अन्त्य गर्दै सर्वहाराको मुक्तिको लागि छेडिएको आन्दोलनको पछि नलाग्ने कुरो पनि भएन र त सुरु गरियो किताव बोक्ने हातमा गह्रुंगो झोला र बन्दुक ।
जनयुद्धको दौरानमा कयौ कारबाहीमा सहभागी भइयो । कति ठाउँमा सेनाको आँखाबाट बालबाल बाँचियो । कयौं हण्डर र ठक्कर खाँदै परिवर्तको पक्षमा लाग्ने काम जारी रह्यो । यो क्रममा मजस्तै कति साथी सहिद भए भने हामीहरु भने सहिद , घाइते, बेपत्ता र कष्टपूर्ण जेलनेलको मूल्य चुक्ता गर्न तयार नेपाली आमाका महान योद्धाहरुले बगाएको रगत, आँसु र पसिनाको बलमा अघि बढिरह्यौ, ताकि देशमा आमूल परिवर्तन होस् । हेपिएका थिचिएका र वर्गिय असमानतामा बाँचिएकाहरुको जीवनमा सकारात्मक परिवर्तन होस् ।
यसरी अघि बढ्दै गर्दा हाम्रो अभियानले उचाई पनि लियो या भनौं सुरु गरेपछिका केही वर्षसम्म राष्ट्रिय राजनीतिमा खासै प्रभाव पार्न नसकेको माओवादी आन्दोलनले दश वर्ष पूरा गर्दासम्म देशको भूगोलको ठूलो हिस्सामा आफ्नो शासन चलाउनमात्र सफल भएन, अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफ्नो प्रभाव विस्तार गर्न सफल भयो ।
यसमा हामीमा एउटा उत्साह थियो, किनकी मेरो किताब बोक्ने हातमा बन्दुक थियो । त्यतिबेला को बुर्जुवा शिक्षा वहिष्कार गरेको म डाक्टर इज्निनियर बन्न सक्दिनथेँ, बन्न सक्थे त एउटा असल सिपाही र परिवर्तनको केबल साक्षी ।
तर, उत्साह त्यतिबेला निराशामा बदलियो जतिबेला नेतृत्व आफ्नै जिम्मेवारी बोध र विगतका बाचालाई भूल्दै आफ्नै संसारमा हराउन थाल्यो । जुन शान्तिप्रक्रिया हुँदै शत्तामा पुग्दाको अवस्थासम्ममा पूरै यूटर्न भइसकेको थियो । यतिमात्रै होइन जनयुद्धकालभरी मिलेर अघि बढेका तपाईहरु छिन्नभिन्न हुनुभयो । अहिलेसम्म आइपुग्दा आज जनयुद्धको तयारीको क्रममा सँगै मनाङका गणेश गुरुङकोमा हतियार किन्न गएका प्रचण्ड, बादल र देव गुरुङहरु अहिले एउटै पार्टीमा छैनन् । २०४५ सालमा पार्टीका सैन्य दस्तावेज, एउटा पेस्तोल र १० लोला जिलेटिन शरीरमा लुकाएर गोरखा जाँदै गर्दा मुग्लीनको पुल तरेपछि तनहुँको डिएसपी र सिडिओद्वारा भएको खानतलासीमा बालबाल बँचेका प्रचण्ड र बादलहरु पनि विभक्त छन् ।
माओवादी आन्दोलनका चिन्तक मोहन वैद्य किरण र सिर्जनशिल माक्र्सवादको कुरा गर्ने बाबुराम भट्टराईहरु पनि उत्तर दक्षिणतिर फर्केका छन् । माओवादी आन्दोलनका प्रभावशाली युवा नेता भनिने नेत्रविक्रम चन्द विप्लव र वर्षमान पुनहरु पनि फरक फरक बाटो हिडिरहेका छन् । मणि थापा र मात्रिकाहरुको अवस्था उस्तै छ ।
यो त तपाईहरुको कुरा भए हामी जनयुद्ध कालमा तपाईहरुको मुटु र रगत बनेर हिँडेकाहरुलाई तपाईँहरुले उचित संरक्षण दिनुभएन । पद र शक्तामा पुगेपछि रुपल्लिनुभयो । हामीलाई अपमानित गर्दै लखेटुनुभयो र त अहिले मरुभूमिमा वितेका पलहरु लेख्ने भएको छु ।
बरु तपाईहरुले जनआन्दोलन दवाउन र जनआन्दोलनमा एक थोपा रगत नबगाएकाहरुलाई अवसर दिनुभयो । तिनैले मन्त्री , माननीय पड्काए । एक थोपा पसिना पनि नबगाई केहि व्यक्ति माननीय , मन्त्री बन्दा हामीलाई हैसियतविहिन बनाएर अपमानित बन्दै मरुमूमिका जीविका चलाउनकै लागि आउनुपर्दा तपाईहरुको देश होइन संसारै बदल्ने नारासहितको क्रान्तिकारी कुरामा बहकिएर झोलाबोकेर बाटो लाग्ने बेलामा बाआमाले गहभरी आँसु पार्दै ‘ज्यूदो छाडेर मर्न नजा’ भन्नुभएको सम्झदैं छु ।’ संसार परिवर्तन गराउने भूत चढेको बेलामा त्यस्तो अर्ति किन लाग्थ्यो र !
तर, यो भन्दैमा मैले जनयुद्धमा बेक्कारमा लागेछु भनेर पश्चाताप गरेको भने हुँदै होइन । क्रन्तिकारी सँधै अग्रगमनको पक्षमा हुन्छन्, जुन परिवर्तनका लागि नेतृत्व पनि एकजुट भएर अघि बढे हुन्थ्यो भन्ने मात्रै कामना हो ।
जनयुद्धमा लागेर केहि परिवर्तन गरेकै हो । सामन्ती रुढिवादी संस्कृति, जमिन्दारी प्रथा,ठालुमुखिया प्रथाहरु जरैदेखि उखेलिन सुरु गरेका थिए । तराई क्षेत्रमा हदबन्दीभन्दा धेरै जग्गा भएका सामन्तहरुको हजारौं विघा जग्गा खोसेर सुकुम्बासीहरुलाई वितरण गरिएको थियो । जुवातास, रक्सी जस्ता विकृतिजन्य कुराहरु हटेर गएका थिए । महिलाहरु जुझारु बनेका थिए । उपेक्षित जनताले वास्तविक मुक्तिको अनुभूत गरेका थिए । जनयुद्धको क्रममा नयाँ जनसंस्कृतिको जग बसाल्ने कोशिसहरु भएका थिए ।
लोकतान्त्रिक गणतन्त्रको कार्यनीतिपछि फरक रुपमा हिँडेको पार्टी संसदवादी दलहरुसँगको नयाँ समिकरण पनि मात्रै नयाँ बाटोमा लागेको हो भन्ने ठम्मयाइयो हो । त्यसयता पार्टी जनमूखि भन्दा पनि आफ्नै स्वार्थमा पूर्तिमा लागेको हो कि भन्ने लाग्छ । त्यसैले त परिवर्तनकारी आन्दोलनमा होमिएका हामी आफैं हेपिएजस्तो भएर देशै छाडेर मरुभूमिमा जनयुद्धका ति दिनहरुलाई सम्झेर तत्कालिन अवस्था र अहिलेको अवस्थाको तुलना गरिरहेका छौं ।
जनयुद्धको बीसौं वार्षिकोत्सवमा आइपुग्दा नेतृत्वले ति दिनहरु र ल्यारकालयुगसम्मको एकएक गरि विश्लेषण र स्मरण गरुन, जनयुद्ध दिवसको शुभकामना !
मरभूमिबाट 
जनयुद्धका योद्धा
- Source: zestkhabar.com

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट