कलाकारले भने- बैठक बस्न आउने, भत्तामात्र पचाउने !
७ माघ, काठमाडौं । राजधानीका सडकमा संविधान माग्दै आन्दोलन र नाराबाजी गर्नेहरुको भीडमा बुधबार लोकगायिका राधिका हमाल पनि देखिइन् । र, उनले गाइन्- ‘म बिग्रिएँ बैंसले, नेता बिग्रे पैसाले ।’
संविधानमा आफ्ना मुद्दालाई पनि समावेश गरियोस् भन्दै संविधानसभा भवनको छेउछाउमा नारा, जुलुस बढ्न थालेका छन् । यही क्रममा लोकदोहोरी कलाकार पनि सडकमा उत्रिएका हुन् ।
‘राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपाल’को संयोजनमा बुधबार काठमाण्डौको बिजुलीबजारमा कलाकारले आफ्ना माग गीतमार्फत राखे ।
लोकगायिका राधिका हमालले ‘म बिग्रिएँ बैंसले, नेता बिग्रे पैसाले’ बोलको गीत गाएर सबैलाई नचाइन् । हमालले मीठो स्वरमा भनिन्-
‘बैठक बस्न आउने,
भत्तामात्र पचाउने,
खै कसरी जनताले चित्त बुझाउने ?
कार्यक्रममा लोकगायक पशुपति शर्माले नेताले संविधान दिन नसकेको भन्दै आफ्नो चर्चित गीत ‘मलाई अमेरिका यहीँ’ गाए ।
कलाकारहरुले संविधानमा कलाकारका मुद्दालाई पनि समावेश गरियोस् भन्दै प्लेकार्ड बोकेका थिए ।
उनीहरुले ‘कलाकार राष्ट्रका गहना होइनन्, सम्पत्ति हुन्’ भन्दै संविधान जारी गरेर देशलाई अगाडि बढाउन माग गरे ।
दबाबमुलक कार्यक्रममा नेपाली लोक क्षेत्रका गायक-गायिका, मोडल, निर्देशकहरुको उपस्थिति थियो ।
दोस्रो संविधानसभाको निर्वाचनपछि राजनीतिक दलका नेताले माघ ८ गते संविधान जारी गर्छौं भनेर गरेको प्रतिवद्धता भोलिबाट सकिँदैछ । अब माघ ८ मा संविधान आउने सम्भावना पनि सकिएको छ ।
श्रोत साभारः www.onlinekhabar.com