मिलन तिमिल्सिना र विनोद चौलागाईं/उज्यालो ।
काठमाडौं, साउन ७ – झट्ट हेर्दा पाती या गाँजरजस्तो देखिने नयाँ झार तपाईंको घरआँगन, खेतबारी या वनपाखामा समेत फैलिएको होला ।
कतिजनाले त गाईवस्तुलाई सोत्तरको रुपमा प्रयोग पनि गर्नुभएको होला । बाटोमा हिँड्दा झारको पात चिमोटेर खेलाउने पनि गर्नुभएको होला ।
तर सावधान ! अमेरिकाबाट भारत हुँदै केही वर्षअघि मात्र नेपाल भित्रिएको यो झार बालीनालीको लागि मात्र होइन, मानव स्वास्थ्यको लागि पनि निकै खतरनाक र हानीकारक छ ।
‘धेरैलाई थाहा छैन, यो झार निकै विषालु र मिचाहा प्रवृत्तिको छ’ नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको जीन बैंकका प्रमुख मदनराज भट्टले भन्नुभयो, ‘यसलाई नियन्त्रण गर्नको लागि देशभर जनचेतनामुलक अभियान चलाउन आवश्यक छ ।’ यो झार देशभर फैलिसकेकाले विशेष सावधानी अपनाउनुपर्ने उहाँको भनाइ छ ।
के हो मिचाहा झार ?
पार्थेनियम हेस्टेरोफोरस भनिने यो झार विश्वका १० वटा बदमास झारमध्ये एक नम्वरमा पर्छ । ५८ वर्षअघि भारतले अमेरिकाबाट गहुँ आयात गर्दा गहुँको बीउसँगै यो झार त्यस समयमा भारत भित्रिएको अनुमान छ । भारतमा फैलिएपछि झण्डै १०/११ वर्षअघि यो झार नेपाल पनि भित्रिएको हो । पात गाँजर जस्तो हुने भएकाले यो झारलाई गाँजर झार पनि भनिन्छ । हेर्दा तितेपाती जस्तो पनि देखिन्छ । यो झार अहिले नेपालसँगै भारत, बंगलादेश, पाकिस्तान, अफ्रिका लगायत अष्ट्रेलियामा समेत फैलिएको छ । ‘यो झार अति नै मिचाहा प्रकृतिको भएकाले अरु बालीनालीलाई सजिलैसित विस्थापित गरी एकलौटी रुपमा खाली जमिनमा फैलिन्छ’ नार्क अन्तर्गतको बाली विज्ञान महाशाखाकी विज्ञ दयामणीदेवी गौतमले भन्नुभयो । सडकको दायाँवायाँ, खेतबारीको कान्ला डिल, पाखापखेरा, गाईवस्तु चर्ने चौर जताततै यो फैलिसकेको छ । झार फैलियो भनेर चिन्ता गर्ने कृषि विज्ञहरु बस्ने नार्कको कार्यालय परिसरमा पनि यो झारले डेरा जमाइसकेको छ । हिउँदमा नदेखिने यो झार वर्षायाममा भने अरु झारपातजस्तै फैलिने गर्छ ।
बालीनाली र मानव स्वास्थ्यलाई वेफाइदा
कृषि विज्ञहरुका अनुसार यो झारले बालीनाली, पशुपंक्षी र मान्छेलाई समेत असर गर्छ । यो झार उम्रेको छेउछाउमा बहने हावाले पशु, चौपायाको कलेजो, किड्नी र पाचन क्रियालाई समेत असर गर्छ । गाईभैंसीको दूध उत्पादनमा पनि कमी ल्याउने कृषि विज्ञहरु बताउँछन् । ‘तरकारी बालीहरुमा फल तथा बीउ नलाग्ने, खसीबोकाले खायो भने यसको विष तत्वको कारण मासु समेत खान योग्य नहुने हुन्छ’ भट्टले भन्नुभयो, ‘मान्छेलाई समेत यसले नराम्रो असर गर्छ ।’
यो झार छुँदा छाला सम्बन्धी रोग लाग्ने, श्वासप्रश्वासमा समस्या आउने, यो झार उम्रेको ठाउँबाट हिँडडुल गर्दा वा यसको पातले जीउमा छुँदा संक्रमण हुने, ज्वरो, दम र ब्रोंकाइटिस सर्ने जस्ता सम्भावना हुन्छ । ‘भारतमा यस झारको कारणले मानिसको मृत्यु समेत भएको पाइएको छ,’ भट्टले भन्नुभयो, ‘कृषिजन्य वहुमुल्य प्रजातिहरुलाई विस्थापित गरि जैविक विविधतालाई समेत ठूलो क्षति पुर्याएको छ ।’
नियन्त्रणका उपाय
विज्ञहरुका अनुसार यो झारलाई सजिलै नियन्त्रण गर्न सकिंदैन । किनकी यो झारमा अरु सबै झारलाई मार्न सक्ने क्षमता हुन्छ । ‘जसरी बागमती सफाई अभियान थालियो, यसैगरी यो झार नियन्त्रणको अभियान देशव्यापी फैलाउनुपर्छ’ नार्क अन्तर्गतको जिन बैंकका प्रमुख मदनराज भट्टले भन्नुभयो । उहाँका अनुसार यो झारलाई फुल्नु अगावै उखेलेर खाल्डोमा पुर्नुपर्छ । तर झारको वरिपरी जाँदा या समाउँदा हातमा पञ्जा र मुखमा मास्क लगाउनुपर्छ ।
‘झार कलिलो अवस्थामा छ भने पाराक्वैट तथा २–४ डी नामक विषादीको प्रयोग गरेमा नियन्त्रण गर्न सकिने अनुसन्धानबाट पुष्टी भएको छ’ भट्टले भन्नुभयो । यो झार नियन्त्रणको लागि विशेष अभियान नै चलाउन कृषि विज्ञहरुले माग गरेका छन् । नियन्त्रण हुन नसकेमा बालीनालीलाई सखाप पार्ने र मानिसमासमेत संक्रमण फैलिने उनीहरुको चिन्ता छ ।
Source: http://ujyaaloonline.com/