जब-जब तीज नजिकिन्छ, गायिका कोमल वलीको सक्रियता बढ्दै जान्छ। तीज आउन एक महिना बाँकी छँदै उनको व्यस्तता यसरी बढ्छकी, उनी सञ्चारकर्मीहरुलाई समेत समय दिन भ्याउँदिनन्। विगतमा एक-दुई दिनमा सीमित तीज मनाउने संस्कृति अहिले एक महिना लामो हुँदै गएको छ। यस्तो अवस्थामा अन्य लोकप्रिय गायिका झैं कोमल वलीको सक्रियता पनि बढ्छ। नबढोस् पनि किन, हरेक वर्ष तीजको अवसर पारेर उनी रमाइला गीत तयार पार्छिन्। तीजमा यसै पनि नृत्य गर्न मिल्ने गीत बढी रुचाइन्छ। नेपाली महिलाहरूको रोजाइका गीत गाएपछि तीज विशेष सांगीतिक कार्यक्रममा कोमलको उपस्थिति अनिवार्य झैं हुन्छ। कहिले ‘पोइला जान पाम’ त कहिले ‘झ्वाँक तन्नेरी’ भन्दै तीजलाई संगीतमय बनाउन सिपालु कोमलले यसपटक ‘हल्ला भो शिवजी तिम्रो मेरो माया प्रेमको’ गाएर दर्शक तथा स्रोताको मन जितिरहेकी छिन्। यो वर्ष पनि उनी तीज विशेष कार्यक्रममा सहभागिता जनाउन स्वदेशका विभिन्न शहर तथा विदेशसम्म पुग्दैछिन्। यसपटकको तीज गीतमार्फत कोमलले भगवान् शिवप्रतिको आफ्नो प्रेम दर्शाउन खोजेकी छिन् भने गीतको म्युजिक भिडियोमा समेत त्यही भाव प्रस्तुत गरेकी छिन्। यसपटकको तीजमा कोमल फरक-फरक गेटअपमा देखापरिरहेकी छिन्। यतिबेला गाउँदेखि सहरसम्म तीजको रौनक छ। यही अवसर पारेर कोमलले आफ्ना केही सेक्रेट कुरा साप्ताहिकसँग सेयर गरिन्।
मादल बजाउने कला
अधिकांश दर्शक तथा स्रोताले मेरा गीत सुन्नु भएको छ, मन पराउनु भएको छ। उहाँहरू मेरा गीतमा छमछमी नाच्नु हुन्छ। म गीत मात्र गाउँदिन, मादल पनि बजाउँछु भन्ने कुरा चाहिँ मसँग नजिक भएका मानिसहरूलाई मात्र थाहा छ। पारिवारिक जमघटमा म प्रायः मादल बजाउँदै गीत गाउँछु।
दुवै हातले लेख्ने खुबी
तपाईंलाई पनि अचम्म लाग्छ होला, किनभने मैले यो अति गोप्य कुरा अहिलेसम्म कसैलाई भनेकी छैन। म देब्रे र दाहिने दुवै हातले उत्तिकै स्पिडमा लेख्न सक्छु। मेरो यो प्रतिभा स्कुले जीवनदेखि कै हो। मौका र अवसर नजुरेकाले मैले यो अनौठो प्रतिभाका बारेमा सार्वजनिक रूपमा केही बताउन पाएकी थिइन्।
एथलेटिक्स खेलाडी
म समाचारवाचिका, कार्यक्रम सञ्चालिका तथा गायिका मात्र होइन, विगतमा अब्बल दर्जाकी एथलेट पनि थिएँ। दौडमा मेरो विशेष रुचि थियो। मैले साफ खेलकुदमा समेत सहभागिता जनाइसकेकी छु। बंगलादेश, भारत तथा पाकिस्तानमा सम्पन्न तीन भिन्न साफ खेलकुदमा म एथलेटिक्स खेलाडीका रूपमा सहभागी भैसकेकी छु।
क्याप्टेन
खेलकुदमा मेरो रुचि बाल्यकालदेखिकै हो। म एथलेटिक्समा मात्र होइन, फुटबलमा समेत उत्तिकै सक्रिय थिएँ। टिनएजर छँदा म राप्ती अञ्चलको महिला फुटबल टिमको क्याप्टेन थिएँ। फुटबल क्याप्टेनका रूपमा मैले थुप्रै खेल खेलेकी छु।
समाचारवाचिका
‘यो रेडियो नेपाल हो, अब कोमल वलीबाट समाचार सुन्नुहोस्’ भन्दै मैल निकै वर्ष रेडियो नेपालमा समाचारवाचन गरेकी छु। रमाइलो कुरा के भने अहिलेको पुस्ताका अधिकांश दर्शक तथा स्रोतालाई म समाचारवाचिका पनि हुँ भन्ने जानकारी छैन। वास्तवमा मैले गायनबाट यति प्रसिद्धि पाएँ कि मेरो समाचारवाचिकाको परिचय नै ओझेलमा पर्यो। कान्तिपुर साप्ताहिकबाट




 

 Rupee Exchange Rate
   Rupee Exchange Rate