कपिल कोइराला/उज्यालो । काभ्रे, भदौ ९ - काभ्रेको पनौती –२ बस्ने एक युवती विगत ४ बर्षदेखि आफ्नै बाबुबाट बारम्बार बलात्कृत भएको खुलासा भएको छ ।
पनौती २ का एक व्यक्ति (पीडितको परिचय खुल्ने भएकाले नाम सार्वजनिक नगरिएको)ले १५ वर्षको उमेरदेखि नै छोरीलाई बलात्कार गर्दै आएको खुलासा भएको हो । 
१९ वर्षकी युवतीले जिल्ला प्रहरी कार्यालय काभ्रेमा आफ्नो बाबुलाई कारवाहीको माग गर्दै उजुरी दर्ता गरेकी छिन् ।
अन्तिम पटक गत साउन ३० गते घरको आफ्नै कोठामा बसिरहेको बेला बाबुले बलत्कार गरेपछि ती युवतीले बिष सेवन गरेकी थिईन । बाबुले बारम्बार बलत्कार गर्न नछाडेपछि युवतीले आफ्नो आमा तथा मामाहरुलाई गुहार्न पुगेपनि उनीहरुले पनि सहयोग नगरेपछि विष पिउन बाध्य भएको बताएकी छिन ।
‘बुबाले म एक्लै हुने वित्तिकै जबरजस्ती यौन सम्पर्क गर्नुहुन्थ्यो’ पीडित युवतीले रुँदै भनिन् ‘यस बारे मैंले ममी तथा मामालाई पटक पटक भन्दा पनि बेईजत हुन्छ भन्दै चुप बस्न भन्नुभयो ।’  सधै पीडित हुनुपर्ने भएपछि किन बाँच्नु भनेर बिष सेवन गरेको ती युवतीले बताइन् ।
बिष पिउनु अघि लेखेको सुसाईड नोटमा आफ्नै बाबुले जबरजस्ती करणी गरेको, यसबारे आमा तथा मामाहरुलाई जानकारी गराउँदा समेत कुरा नसुनेपछि आत्महत्या गरेको उल्लेख गरेकी थिईन् । विष सेवनपछि गम्भीर विरामी भएकी उनी धुलिखेलमा उपचार गराएर आईतबार मात्रै डिस्चार्ज भएकी हुन ।
११ बर्षको हुँदा आफ्नै हजु्बुवालेसमेत आफूलाई बलत्कार गरेको भन्दै ती युवतीले आफू सानै भएको कारण आफ्नो र परिवारमा बेइज्जत हुन्छ भनेर चुप बसेको बताइन् । उनले आफुलाई बलत्कार गर्ने बाबुलाई हदैसम्मको कारवाहीको माग समेत गरेकी छिन ।
जिल्ला प्रहरी प्रमुख अरुण विसीले बलात्कारको आरोप लागेका व्यक्तिलाई पक्राउ गरिसकेको तथा अनुसन्धानको लागि जिल्ला अदालतबाट म्याद थप गरिएको बताउनुभयो ।  पीडित युवतीलाई अहिले रक्षा नेपाल संस्थाले संरक्षण दिईरहेको छ ।



 

 Rupee Exchange Rate
   Rupee Exchange Rate