लेखपढ मात्र गर्न सिकेकी ३ छोरीकी आमा ३० बर्षिया जानकी रोकायालाई छोरो नपाएकै कारण देखाएर सासुले दिनदिनै ताना कस्न थालिन् । हुँदा हुँदा सुर्खेत जिल्लाको लेखफर्सा गाविसमा पर्ने श्रीमान्कै घरमा पनि बस्न नपाएपछि जानकीले समाज र सरकारलाई गुहार्नु पर्यो ।
जानकीलाई समाजले साथ दियो । भन्नुहुन्छ “सरकारले पनि साथ दिएकाले २ कट्ठा जग्गामा खेतीपाती गरेर छोरी पढाएकी छु, दुखले घर चलाएकी छु” ।
तर अप्ठेरोमा परेका जानकी जस्ता धेरै महिलाले समाज र सरकारको साथ पाउँदैनन् । लेखफर्साकै उषा कटवालले प्रेमी र पतिबाट धोका पाएपछि उहाँको संसार एकाएक उजाडियो ।
१८ बसन्तमा पाईला चालिराखेकी उषा कटवालको अनुहार हेर्दा लाग्छ, बिहे गर्ने बेला बल्ल हुन लागेको छ । तर, ४ बर्ष अघि ८ कक्षामा पढ्दा पढ्दै आफूसित मन मिल्दो केटासित बिहे भयो । उषाका श्रीमान् पनि सानैदेखि पैसा कमाउन भारत आई जाई गर्थे । उषा पनि जानु भयो एकपल्ट श्रीमानसँगै भारत । बिरामी हुँदा, लोग्नेले उपचार पनि गरे ।
तर, गएको बर्षदेखि श्रीमान्ले उषाको फोन उठाउन छाडे । आफूलाई आफ्नै लोग्नेले चिन्न छाडेपछि उषासित रुनु, कराउनु र धेरैतिर हार गुहार गर्नु बाहेक कुनै उपाय बाँकी रहेन । तर, न बिहे दर्ता, न छोराछोरी, न नागरिकता । त्यसमाथि सासुले दोबाटे र खान नपाएर छोरो पछ्याएकी भनेर घरबाट निकालेपछि उषाको बसाई मावलीमा खुम्चिन पुगेको छ । माईतमा आमा मात्रै छन् र आमाको आफ्नै दुख छ । उषालाई आफू माईत जाँदा आमाको दुख बढ्ला र छिमेकी हाँस्लान् भन्ने पीरले कुटुकुटु मन खान्छ ।
श्रीमानले भारतमै अर्को बिहे गरेको खबर पाएपछि बस्ने बास मात्र होईन, उषाको परिचय समेत हराएको छ । बिश्वासमा प्रेम बिवाह गरेकी उषा कट्वालसित न नागरिकता छ, न त बिहे दर्ता नै भएको छ । छ त केवल आफू जस्तै दुखमा हुर्केको मानिसले दिएको धोकाले दिनदिनै बल्झाउने दुख र बाँच्नका लागि एक्लै गर्नुपरेको संघर्ष मात्र । सुर्खेत जिल्लाको लखफर्सा गाविसमा कपडा सिलाउने काम गरेर जीविका चलाईरहेकी उषा कट्वालको जिन्दगीबाट उत्साह र उमंग हराएको छ ।
सानो उमेरको बिहे, बिहेपछि बिना कुनै कारण लोग्नेले दिएको धोका, लोग्नेका घरमा सासुले बस्न नदिएपछि भोग्नु परेको पीडा र एक्लोपनले घेरिएकी उषालाई गाउँका औसत युवतीभन्दा गोरी र राम्री देखिन्छ, तर २० बर्षे उमेरमै अनुहार भने चमक उडेर घर जलेपछिको खरानी जस्तो भएको छ ।
लोग्नेले धोका दिएपछि २० बर्ष नपुग्दै अनुहारको चमक हराएका उषा जस्ता युवती नेपालमा धेरै छन् । र, यो धोकाको मुख्य कारण हुन पुगेको छ बैदेशिक रोजगारी । बिशेष गरि पश्चिम नेपालबाट कमाउन भारत जाने परिवारमा यो समस्या बाक्लै भेटिन्छ ।
नेपाल र भारत सरकारको सन् २००१ को जनगणना अनुसार, भारतमा गएर लामो समय काम गर्ने नेपालीको संख्या सरदर ६ लाख छ । र, यसरी काम गर्ने नेपाली धेरैजसो यूवा उमेरका छन् । १ बर्षअघि सेण्टर फर स्टडी अफ लेबर एण्ड मोविलिटी अथवा सेस्लमले गरेको अध्ययन अनुसार, हरेक बर्ष सरदर ८ लाख नेपाली छोटो समय काम गर्न भारत जान्छन् ।afnaibudale6odeaa
लामो होस् या छोटो समयको काम, भारतमा काम गर्न जाने धेरै लोग्ने मानिस स्वास्थ समस्या लिएर आउँछन् भने कतिले घर, छोराछोरी र माया गरेर भर्खर बिहे गरकी श्रीमतीलाई समेत बिर्सिन्छन् र उतै घरजम गर्छन् । उषा कटवालको कथा त उदाहरण मात्रै हो । त्यसो त, साथीभाइ र शुभ चिन्तकले उषालाई उमेर छ बिहे गर भनेर सल्लाह पनि दिन्छन्, तर बिहे गर्ने उमेर बल्ल सुरु हुँदा नै, उषालाई पहिलो बिहेको असफलताले अर्को बिहे गर्ने मन मरेको छ । उषाकै शब्द सापट लिने हो भने पनि “त्यस्तो बिश्वास र माया गरेको प्रेमीले त चार बर्ष नपुग्दै धोका दियो र अर्की लिएर हिड्यो, अब यो मनले अरुलाई कसरी बिश्वास गर्नु ?”
त्यसो त बिश्वासको खाडल कमाउन जाने यूवाहरुका मनमा पनि दिनदिनै बढ्न थालेको छ । बिदेशको कमाई नेपालमा आउँदा धेरैको घर चले पनि कतिपय यूवाहरुको घर भत्केको छ र मन टुटेको छ । तर, बिदेशको कमाईबाट भैरहेको पारिवारिक माया, सदभाव र विश्वासको मुल्य भने समाज र परिवारले, बिशेष गरि महिलाले महंगोसित चुकाउनु परेको छ ।
यस्तै चर्को मूल्यमध्ये एउटा हो काम गर्न गएपछि भारतमै घरजाम गरेर घरका श्रीमतीलाई अलपत्र पारिदिने समस्या र भारत बाहेक अरु देशमा गएका यूवाका श्रीमतीले नेपालमा घर अलपत्र पारि दिएको समस्या । यो समस्या नेपालका गाउँघरमा जताततै छ । र, यो समस्या जानकी जस्ता आमाको मात्र हैन, छोराछोरी नै नभएका उषा कटवाल जस्ता धेरै नेपाली महिलाको पनि साझा समस्या बन्न थालेको छ ।स्रोत :उज्यालो अनलाइन