यो जाडो मौसममा सौन्दर्यका लागि टिप्स् (जानी राखौं)

CLICK
-सन्जिना श्रेष्ठ
धेरैको एउटै चाहना हुन्छ, सुन्दरतामा निखार ल्याउनु । तर, जाडोको समय सुन्दरतामा ह्रास आउन सक्छ । हामी सुन्दरताका लागि अनेक कस्मेटिक सामाग्री प्रयोगका साथै नियमित पार्लर पनि गएकै हुन्छौं । तर, घरमै सहज रूपमा उपलब्ध हुने तेलबारे भने धेरैलाई जानकारी नहुन सक्छ । कस्मेटिकभन्दा घरमै पाइने तेल सुन्दरतामा निखार ल्याउन अझ बढी प्रभावकारी हुन्छ । तेलले छालामा स्वच्छ तथा चमक प्रदान गर्नुका साथै ओठलाई नरम, नङलाई बलियो बनाउन पनि एकदमै उपयोगी मानिन्छ । तल दिइएका टिप्स आफैं प्रयोग गरी हेर्नुहोस् र आफैं फरक महसुस गर्नुहोस् ।
  • जाडो मौसममा छालालाई चिसोबाट जोगाउन एक चम्चा क्यास्टर अएल र आधा चम्चा गुलाबजल मिलाउने । त्यसलाई हरेक रात सुत्नुअघि अनुहारमा लगाउने र बिहान मनतातो पानीले पखाल्ने ।
  • घामले डढेको छाला छ भने त्यसलाई हटाउन जैतुनको तेल र भेनेगर बराबर मात्रा मिसाउने र नुहाउनु एक घण्टा अगाडि त्यसलाई लगाउने ।
  • सुख्खा छालाका लागि जैतुनको तेलमा नरम कपडा भिजाएर नाक र आँखा भएको ठाउँमा प्वाल बनाएर अनुहारलाई छोप्ने । आधा घण्टापछि सफा कपडाले पुछ्ने । यो प्रक्रिया राति सुत्नुअघि गर्ने र बिहान उठेर मनतातो पानीले अनुहार धुने ।
  • एन्टी रिङ्कल क्रिम बनाउन एक चम्चा जैतुनको तेल र अण्डा मिसाएर अनुहार तथा घाँटीमा लगाई त्यसलाई सुक्न दिने । सुकेपछि तातो पानीमा एक चम्चा सोडा मिसाई कटनले राम्ररी पुछ्ने ।
  • सबैभन्दा राम्रो ब्युटी मास्क बनाउन एक चम्चा चनाको पिठोमा सुन्तला बोक्राको पाउडर, जैतुनको तेल र एक चम्चा मोही मिसाउने । यो लेपलाई आफ्नो अनुहार तथा घाँटीमा लगाउने र सुकेपछि हातले रगड्ने । त्यसपछि मनतातो पानीले अनुहार सफा गरी चिसो पानीले मुख धुने । यसले तपाईंको अनुहारमा भएको दाग हटाउन पनि मद्दत गर्छ ।साथै तपार्इंको छालालाई नरम तथा चमक प्रदान गर्छ ।
  • अनुहारमा धेरै दाग छन् भने पहिला १० मिनेट बाफ लिने । राम्ररी क्लिन्जिङ गरी नरम कपडाले पुछ्ने । त्यसपछि एक चम्चा जैतुनको तेलमा आधा चम्चा कागतीको रस मिसाएर अनुहारमा मसाज गरी २० मिनेटपछि अनुहारमा आइस ५ मिनेटसम्म राख्ने ।
  • अनुहारमा कालो धब्बा तथा सुख्खा छ भने एक चम्चा चनाको पिठोमा एक चम्चा बेसार, केही थोपा कागतीको रस, आधा चम्चा जैतुनको तेल र दूध मिसाएर लेप तयार गरी अनुहारमा आधा घण्टा राखेर सफा गर्ने ।
  • अनुहारमा नरमपना तथा चमक ल्याउन राति सुत्नुअघि बेबी अएल अनुहार तथा घाँटीमा लगाउने ।
  • सुख्खा तथा फुटेको छालामा एक चम्चा बदामको तेल, कागतीको रस र दूधको क्रिम राखेर लेप तयार पार्ने । त्यसलाई हरेक रात सुत्नुअघि आफ्नो अनुहार तथा घाँटीमा लगाउने ।
  • सुख्खा छालालाई सफा राख्न अण्डाको पहेँलो भाग, आधा चम्चा जैतुनको तेल र कागतीको रस मिसाएर अनुहारमा सुत्नेबेला लगाउने ।
  • जाडो महिनामा छालालाई सुख्खापनबाट बचाउनु छ भने दुई चम्चा जैतुनको तेल र आफूलाई मनपर्ने पर्फ्युम मिसाई छालामा मसाज गर्नुहोस् । तपाईंले आफ्नो छाला नरम, कोमल र चमकयुक्त पाउनुहुन्छ ।
  • तपार्इंको नङ कमजोर छ भने बेबी अयलमा सेतो आयोडिन मिसाएर लगाए नङ बलियो हुन्छ ।
  • तपाईको ओठ फुस्रो छ भने राति सुत्नुअघि बेबी अयलले मसाज गर्ने ।

-साभार श्रोतः swasthyakhabar.com

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट